काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकास गर्ने लक्ष्यसहित सुरू गरिएको ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको औपचारिक शुभारम्भ गर्नु भएको छ ।
दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रम उद्घाटन गर्दै विश्व फुटबल महासंघ (फिफा)को सहयोगमा करिब एक हजार विद्यालयमा निःशुल्क फुटबल वितरण गरिने जानकारी दिनु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकको खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा नयाँ र ५० हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिने घोषणा गर्नु भयो ।
फिफा र युनेस्कोको साझेदारीमा सञ्चालित यो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा एन्फाको समन्वयमा अघि बढाइएको हो ।
कार्यक्रमअन्तर्गत विद्यालयमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकलाई तालिम, र फुटबलमार्फत विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता जस्ता जीवनोपयोगी सीपहरू सिकाइने एन्फाले जनाएको छ ।
समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।