सिसुवाखोलामा बन्यो ४५ मिटर लामो पक्की पुल

श्रावण १५, २०८२ |दीपेन्द्र शाक्य
सिसुवाखोलामा बन्यो ४५ मिटर लामो पक्की पुल

सङ्खुवासभा । सङ्खुवासभाको सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। 

एक महिनाअघि निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक समारोहका बीच बिहिबार गरेका हुन् ।

४ करोड ६५ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई आपसमा मात्र होइन, खाँदबारी बजारसँग पनि जोड्नेछ। यसले दुर्गम गाउँहरूबाट आवतजावत सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङकाअनुसार, पुल निर्माणसँगै सिसुवाखोला पार गर्नुपर्ने जोखिमपूर्ण अवस्था अन्त्य भएको छ। स्थानीयहरूलाई अहिले सजिलै हिँडडुल गर्न सकिने अवस्था बनेको छ । उहाँले भन्नुभयाे, ग्रामीण पूर्वाधारको विकासले जनताको जीवनस्तर उकास्न सघाउ पुर्‍याउने छ । अब सिसुवा, ताम्कु, वाला जस्ता बस्तीका बासिन्दाले खाँदबारीसम्मको यात्रा सजिलोसँग गर्न सक्छन् । यसले ग्रामीण क्षेत्रको कृषि, व्यापार र सेवा प्रवाहमा सकारात्मक असर पार्नेछ।"

२०७९ वैशाखमा अम्बर-कुन्सालिङ कम्पनी सङ्ग ठेक्का सम्झौता भएको थियो । संघ, प्रदेश र गाउँपालिकाको बजेटमा गाउँपालिकाले ठेक्का खोलेको थियो ।

पुल निर्माण पछि सिलिचोङको १ सिसुवा र २ को बाला बुधबारे ताम्कु जोड्छ । यो क्षेत्रको समग्र यातायात प्रणालीमा सुधार आउने स्थानीयको विश्वास छ। वर्षौंसम्म अस्थायी संरचनाको भरमा खोलो तर्दै आएका स्थानीयवासीले अब सुरक्षित यात्रा गर्न पाउने भएपछि पुलप्रति उत्साह व्यक्त गरेका छन्।

पुल निर्माणले मात्र होइन, त्यसको सञ्जालमार्फत अब यो क्षेत्रको समग्र विकासको ढोका खुलेको स्थानीयले बताएका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।