एडीबीद्वारा नेपालका लागि नयाँ साझेदार रणनीति सार्वजनिक

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
एडीबीद्वारा नेपालका लागि नयाँ साझेदार रणनीति सार्वजनिक

काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालका लागि नयाँ साझेदार रणनीति सार्वजनिक गरेको छ । सन् २०२५ देखि २०२९ सम्मका लागि लागू हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको छ ।

निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्द्धनलाई नयाँ रणनीतिका मुख्य तीन प्राथमिकतामा राखिएको छ । एडीबीले यी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि आफ्ना लगानीहरूलाई रोजगारी सिर्जना, निजी क्षेत्र सुदृढीकरण तथा सहनशीलता प्रवर्द्धनमा केन्द्रित गर्ने बताएको छ । देशको बहुआयामिक पक्ष र वर्तमान विश्वको अनिश्चित परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले सहयोग कार्यक्रमहरूलाई लचिलो बनाइने स्पष्ट पारेको छ ।

‘कम विकसित मुलुकको सूचीबाट नेपाल माथि उठ्न लागिरहेका बेला यो रणनीतिले देशलाई थप दिगो र समावेशी आर्थिक वृद्धिको दिशामा लैजानेछ,’ एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कुस्वा भन्नुभयो ‘यस मोडेलले घरेलु निजी लगानी र प्रत्यक्ष वैदेशिक लगानीमार्फत उत्पादनशीलता वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ । पूर्वाधार, सीप विकास, क्षेत्रीय तथा विश्व व्यापारसँगको एकीकरण र जलवायु तथा विपद्–प्रतिकूलताबाट जोगिने क्षमतालाई बल दिन्छ ।’

सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको १६ औं पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाइएको एडीबीले जनाएको छ । सरकारले अघि सारेको हरित, सहनशील र समावेशी विकास ९ग्रिड० अवधारणालाई समेत रणनीतिमा समेटिएको बैंकले बताएको छ । रणनीतिमा डिजिटल प्रविधिको विकास, सुशासन, संघीय क्षमता निर्माण, महिला तथा पछाडि पारिएका समुदायहरूको सशक्तीकरणजस्ता विषयलाई समेत समेटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.