यस वर्ष पनि देखियो लम्पी स्कीन, कसरी अपनाउने सजगता ?

झापा, इलाम, रुकुममा देखियो लम्पी स्किन रोग
जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस वर्ष पनि देखियो लम्पी स्कीन, कसरी अपनाउने सजगता ?

काठमाडौं । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको गाईभैंसीमा लाग्ने लम्पी स्कीन रोग यस वर्ष फेरि देखिएको छ । पशु सेवा विभागले यो वर्षको हालसम्म तीन जिल्लामा लम्पी स्कीन रोग देखिएको बताएको छ । लामखुट्टे, झिागा र किर्नाको टोकाइबाट गाईभैंसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन प्राविधिकहरुले सुझाएका छन् ।

पशु सेवा विभागका अनुसार यस वर्ष झापा, इलाम, रुकुममा लम्पी स्कीन रोग देखिएको छ । झापामा १७४ वटामा लम्पी स्कीन रोगको पुष्टि भएको छ । त्यस्तै इलाममा एक वर्ष भन्दा कम उमेरमा १५ बाच्छा बाच्छीमा रोग देखिएको छ । संक्रमण देखिएको क्षेत्रमा अनुगमन र निगरानी भइरहेको प्राविधिकहरुले बताएका छन् । गाईभैंसीमा उच्च ज्वरो आउने, दाना-पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्ष्य देखिएपछि परीक्षण गर्दा लम्पी स्कीन पुष्टि भएको हो । यस्ता लक्षण देखिएपछि पशुको शरीरमा घाउ आउने गर्दछ । योसँगै दुई वर्षअघिको जस्तै महामारीको रुप लिने हो कि भनेर किसान चिन्तित छन् ।

यता पशुसेवा विभागले भने यस पटकको संक्रमणले महामारीको रुप नलिने दाबी गरेको छ । गाईभैंसीमा खोप लगाउने क्रम जारी रहेकाले लम्पी स्किनले महामारीको रुप नलिनेमा विभाग ढुक्क देखिएको हो । सरकारले खरिद गरेको १४ लाख डोज खोपमध्ये १० लाख डोज प्रदेशहरुमा पठाइसकेको र अति प्रभावित मानिएको कर्णाली प्रदेशका यस अघि प्रभावित जिल्लाका गाईभैंसीमा खोप लगाइसकिएको विभागको भनाइ छ ।

लम्पि स्किन निकै संक्रामक रोग हो । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट यो रोग सर्ने भएकाले गाईवस्तुमा जैविक सुरक्षा अपनाउनुपर्ने हुन्छ । संक्रमित पशु भएका गोठ अन्य पशुहरुको सम्पर्कबाट बाहिर राख्नुपर्छ ।

२०७७ सालमा मोरङमा देखिएको लम्पी स्कीन रोग नियन्त्रणमा लिन नसक्दा साढे दुई वर्षको अवधिका किसानले ७४ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढीको क्षति बेहोर्नुपरेको पशु चिकित्सा परिषद्ले गरेको अध्ययनले देखाएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.