प्रदेशको बजेट आइतबार, कृषि, रोजगारी र पर्यटन प्राथमिकतामा

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदेशको बजेट आइतबार, कृषि, रोजगारी र पर्यटन प्राथमिकतामा

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आइतबार सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।

कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले गत वर्ष सातै प्रदेशमा सबैभन्दा ठूलो आकारको अर्थात ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ । इन्भेस्ट गण्डकी कार्यक्रमका लागि आगामी वर्ष लगानी सम्मेलनको तयारी छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पहिले घरदेश अनि परदेश अभियानसहित बजेट सार्वजनिक गरिँदैछ । गण्डकीमा गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो ।

लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ । चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ ।

कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने भएको छ । यो प्रदेशले गतवर्ष ३१ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

त्यसैगरी सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.