‘टेक एन्ड पे’ व्यवस्था हटाउन इपानको माग, समयमै संशोधन नभए आयोजना बन्द गर्ने चेतावनी

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘टेक एन्ड पे’ व्यवस्था हटाउन इपानको माग, समयमै संशोधन नभए आयोजना बन्द गर्ने चेतावनी

काठमाडौं । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बिद्युत खरिद सम्झौता 'टेक एन्ड पे' अर्थात् लिऊ र तिरमा मात्रै गर्ने भन्ने बजेटको व्यवस्था समयमै पुनरावलोकन नगरे जलविद्युत आयोजना नै बन्द गर्ने चेतावनी ऊर्जा प्रवर्द्धकहरूले दिएका छन ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा उत्पादकहरूको संस्था इपानले बजेटको व्यवस्था तत्कालै संसोधन गरी 'टेक अर पे' अर्थात् 'लिऊ वा तिर' मा पिपिए गर्ने व्यवस्था गर्न आग्रह गरेको हो । 

'टेक एण्ड पे'मा मात्रै पिपिए गरे विद्युत प्राधिकरणले हिउँदमा मात्रै सम्पूर्ण बिजुली खरिद गरी वर्षातमा खरिद नगर्ने जोखिम भएकाले यसमा तत्काल संसोधन गर्न माग गरेका हुन् । 'टेक एण्ड पे'मा मात्रै पिपिए गर्दा बैंकबाट ऋण पाउन नसकिने उनीहरूको भनाइ छ ।

बजेटमा आएको यस्तो व्यवस्थाप्रति ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्य दुबैले अनभिज्ञता जनाएका छन । उर्जा उद्यमीहरू भने सरकारले लिएको यस्तो व्यवस्थाको जिम्मा लिन सुझाएका छन । साथै जिम्मा नलिने भए मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

सरकारले 'टेक अर पे'मा विद्युत खरिद नगरे निजी क्षेत्रले आफै बिद्युत ब्यापार गर्ने बाटो खुला गरिदिनुपर्ने माग पनि ऊर्जा उद्यमीले राखेका छन । अहिले विद्युत ब्यापार विद्युत प्राधिकरणले मात्र गर्दै आइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.