इलाम । इलामवाट झापा झर्ने छोटो मार्गकोरुपमा रहेको केचना कंचनजंघा सडक अन्तर्गत इलामको पुवाखोलामा बेलीब्रिजवाट यातायातका साधन चल्न थालेका छन् । ४८ दशमलव ८ मिटर लामो बेलीब्रिजको लोड टेष्टिङ पछि पुल संचालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो । बेलीबिज्र चलेपछि अव इलाम सदरमुकामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बासिन्दालाई समेत प्रत्यक्ष फाइदा पुग्ने र सडकमा बेलीब्रीज निर्माण भएपछि यात्रा सहज र छोटो हुने प्रमुख भट्टराईले बताउनुभयो ।
एक करोड ३५ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको हो । मेची राजमार्गको भञ्ज्याङवाट झापाको विर्तामोड ४८ किलोमिटरमा पुग्न सकिने केचना कंचनजंघा मार्गको अन्य निर्माण कार्यलाई पनि तिव्रता दिइनु पर्ने सरोकारवालाले माग गरेका छन् । अहिले मेची राजमार्ग फेरो लगाउदा इलामवाट विर्तामोड पुग्न ८३ किलोमिटर दुरी पार गर्नु पर्छ ।