पाँच प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न ऋण लिनैपर्ने बाध्यता छः युवराज खतिवडा

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँच प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न ऋण लिनैपर्ने बाध्यता छः युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताउनुभएको छ ।

आइबिएन मिडियाले आइतबार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले ऋणको आकार बढेपनि त्यस्तो ऋण नलिइ ६-७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताउनु भयो । 

आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको उहाँले बताउनु भयो । उहाँले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरीक ऋण लिनुपर्ने बताउनु भयो । 

खतिवडाकाअनुसार हालै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिइएको छ । उहाँकाअनुसार सरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरू गर्ने भनेको छ । 

यसले उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने खतिवडाले बताउनु भयो ।मितव्ययिताका कुरा आउँदा वैदेशिक भ्रमणको कुरा आउने बताउँदै खतिवडाले त्यहाँ भन्दा ठूलो खर्च सफ्टवेयरमा भइरहेको जिकिर गर्नुभयाे । 

उहाँकाअनुसार सार्वजनिक खरिदमा अहिले पनि समस्या हट्न सकेको छैन, त्यसलाई सम्बोधन गर्न सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आउँदो अधिवेशमा पेश हुनेछ ।

सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला खतिवडाले हुवहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताउनु भयो । त्यस्ता प्रतिवेदनहरू पूर्ण नहुने भन्दै अध्ययन गर्न सुझाउने हुँदा कार्यान्वयनमा ढिलाइ हुने गरेको उहाँकाे भनाइ छ । 

खतिवडाकाअनुसार आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरूको प्रतिवेदन चरणवद्ध रूपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.