अरनिको राजमार्गअन्तर्गत कोप्लाङमा तीन मिटर सडक भासिँदा तातोपानी नाका तीन दिनदेखि ठप्प

चीनबाट सामान लिएर आएका २० कन्टेनर बाटोमै रोकिए
वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अरनिको राजमार्गअन्तर्गत कोप्लाङमा तीन मिटर सडक भासिँदा तातोपानी नाका तीन दिनदेखि ठप्प

काठमाडौं । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा तीन मिटर सडक भासिँदा तातोपानी नाका तीन दिनदेखि ठप्प छ । चीनबाट फलफूल, लत्ताकपडा र कृषि सामग्री बोकेर आएका करिब २० कन्टेनर तीन दिनदेखि अडि्कएका छन ।

यातायात अवरुद्ध हुँदा चीनतर्फ सामान लिन हिंडेका ३० वटाजति कन्टेनर तातोपानीको दश किलो र लिपिङ बजारक्षेत्रमा रोकिएको तातोपानी भन्सार प्रमुख कमलप्रसाद भट्टराइले बताउनुभयो । सडकको अवरोधले आयात ठप्प हुँदा दैनिक राजस्व संकलनमा पनि असर परेको छ । 

दुई दिनदेखि सडक विभागले अन्य ठाँउको माटो ल्याएर सडक मर्मतको काम गरिरहेको छ । तर भासिने क्रम जारी रहेकाले ठूला भारका सवारीसाधन चलाउन नसकिएको भोटेकोशी गाँउपालिकाका प्रमुख पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो । 

अवस्था हेर्दा अझै तीन-चारदिन सडक सञ्चालनमा आउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभएको छ । यसैबीच खासाबाट तातोपानी भन्सार जाँदै गरेको नयाँ विद्युतीय कार भासिएको सडकबाट भोटेकोसी नदीमा खस्दा एकजना गम्भीर घाइते भएका छन । 

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । जोखिमपूर्ण सडकबाट कार ल्याउादा शुक्रबार बेलुका कार भोटेकोसीमा खसेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.