काठमाडौं । स्वदेशमा आन्तरिक रोजगारीका अवसर सिर्जना हुन नसक्दा एक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या १४ प्रतिशतले बढेको छ । यससँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार २०८१ मा ८ लाख ८ हजार ५६७ जनाले श्रम स्वीकृति लिएका छन् । २०८० मा यो संख्या ७ लाख ८ हजार २२० थियो । साउदी अरेबिया, कुवेत, कतार जस्ता देशमा बढी श्रमिक गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
युरोपका माल्टा, क्रोएसिया, पोल्यान्ड, पोर्चगुल जस्ता देशमा जाने युवाको संख्या पनि उल्लेख्य बढेको छ ।
झन्डै एक वर्षदेखि मलेसियाको रोजगारी बन्द रहेको अवस्थामा पनि जानेको संख्या बढेको देखिएको छ । वैदेशिक रोजगारीमा जानेहरूले पठाएको पैसा पनि बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रेमिट्यान्स भित्रिएको छ । सरकारले ११० मुलुकमा जानका लागि श्रम स्वीकृति दिने गरेको छ । व्यक्तिगत तहबाट भने १७० भन्दा धेरै मुलुकमा युवाहरू गइरहेको विभागको तथ्यांक छ ।
यो वर्ष वैदेशिक रोजगारीका लागि करिब ९० हजार महिला बाहिरिँदा पुरुष ७ लाख १९ हजारभन्दा बढी विदेशिएका छन् । रोजगारीका अवसर पर्याप्त सिर्जना नहुँदा बाहिरिनेको संख्या बढेको अर्थशास्त्री डिल्लीराज खनालको भनाइ छ ।
सरकारले आन्तरिक श्रम रोजगार र कृषि लगानी दशक घोषणा गरेको भए पनि युवाहरूलाई टिकाउन पहल गरेको छैन ।