काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले योजनाविना आयोजनाहरूमा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री पौडेलले अध्ययन नगरी बजेटमा कार्यक्रम राख्दा कार्यान्वयन हुन नसकेको बताउनुभएको हो ।
चालु आर्थिक वर्षमा अध्ययन नै नगरी ११ हजार आयोजनामा बजेट राखिएको र त्यसलाई अघि बढाउन नसकिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सीमित स्रोतलाई ध्यान दिइने उहाँको भनाइ छ ।
मन्त्री पौडेलले क्यालेण्डर बनाएरै आगामी आर्थिक वर्षको बजेटको काम भइरहेको जानकारी दिनुभयो । यसअघिका सरकारका कारण मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा पुगेको आरोप लगाउँदै उहाँले यसबाट निस्कने गरी काम भइरहेको दाबी उहाँले गर्नुभयो ।