काठमाडौं । लोडसेडिङ र कच्चा पदार्थ तथा डलरको मूल्यवृद्धिलगायतका करण देखाउँदै उद्योगीले डण्डीको मूल्यवृद्धि गरेपछि निर्माण व्यवसायी र उद्योगीबीच पुनः विवाद सुरु भएको छ ।
सिमेन्टमा भएको मूल्यवृद्धिका कारण केही समय अघिदेखि निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच जारी विवाद समाधान नहुँदै डण्डीको मूल्यमा समेत वृद्धि भएपछि विवाद बढेको हो ।
विकास निमार्णको मुख्य समयमै उद्योगीले डण्डीको मूल्य बढाएपछि मंगलबार संसदीय समितिमै विवाद भएको थियो । उद्योगीले सरकारको मिलेमतोमा डण्डीको मूल्य बढाएको निर्माण व्यवसायीको आरोप छ ।
डण्डीमात्रै होईन उद्योगीले एक सातामै ग्याविन वायरको मूल्य एक सय ९ रुपैयाँबाट एक सय २२ रुपैयाँ पुर्याएको निर्माण व्यवसायीको आरोप छ । तर उद्योगीले भने अहिले पनि उद्योग मूल्य ८५ रुपैयाँ रहेको दावी गरेका छन् ।
अहिले देशमा १७ स्टिल उद्योग छन् जसमा पन्चकन्याबाहेक अन्य सबै उद्योगले मूल्य बढाएका छन् । एकैपटक मूल्यवृद्धि गर्नुलाई उपभोक्ता अधिकारकर्मीले कार्टेलिङको संज्ञा दिएका छन् ।
उद्योगीले पटक-पटक मूल्यवृद्धि गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग छलफल गर्ने भएको छ । उद्योगीले लागत उठाउन मुल्यवृद्धि गरेको दावी गरेपछि विभागले उद्योगीलाई लागतसहित उपस्थित हुन निर्देशन दिएको छ ।