काठमाडौं । मागअनुसारको बिजुली उत्पादन नभएको तथा भारतबाट आयात गर्न नमिलेपछि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुस नतिरेका उद्योगमा अघोषित लोडसेडिङ गर्न थालेको छ ।
भारतबाट दिउँसो मात्रै बिजुली आयात गर्न मिल्ने भएपछि बिजुली व्यवस्थापन गर्न प्राधिकरणलाई चुनौती भएको हो । विद्युत् प्राधिकरणका अनुसार दिउँसो १२ सय मेगावाटको माग छ ।
साँझको समयमा भने १८ सय मेगावाट पुग्ने गरेको छ । तर, स्वदेशका आयोजनाबाट १६ सय मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । भारतबाट गतआइतबारदेखि १२ घन्टा अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात गर्न मिल्छ ।
२० घन्टासम्म आयात गर्न मिल्ने व्यवस्था संशोधन भएपछि साँझको समयमा बिजुली अपुग हुने गरेको हो । त्यही कारण प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेका ४१ वटा उद्योगमा अघोषित लोडसेडिङ गर्न थालेको हो ।
भारतबाट अहिले दिउँसोको समयमा ६ सय मेगावाट आयात गरिएको छ । स्वदेशका आयोजनबाट पनि ६ सय मेगावाट नै उत्पादन हुन्छ । यो समयमा माथिल्लो तामाकोशी जस्ता पिकिङ आयोजनामा पानी जम्मा गरेर बेलुकामा मात्र चलाएर व्यवस्थापन गर्ने गरिएको छ ।
अब विस्तारै गर्मी बढेकाले हिउँ पग्लने क्रम बढाएकाले खोलामा पानीको बहाव भने बढ्न थालेको प्राधिकरणले जनाएको छ । भारतले रातिको समयमा बिजुली निर्यात गर्न रोके पनि सरकारले यसमा पहल गरेको छैन ।