सात महिनामा ९ खर्ब ८८ अर्बको वस्तु आयात हुँदा कृषिजन्य उत्पादन सबैभन्दा धेरै

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सात महिनामा ९ खर्ब ८८ अर्बको वस्तु आयात हुँदा कृषिजन्य उत्पादन सबैभन्दा धेरै

काठमाडौं । राष्ट्रिय जनगणनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कुल जनसंख्याको ५० दशमलव १ प्रतिशत कृषि पेसामा आवद्ध छन् । तर नेपालले वार्षिक ४ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्ने गरेको छ । हाम्रै खेतबारीमा पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तुसमेत आयात हुने गरेको हो । छिमेकी भारत र चीनबाट मात्र होइन, अमेरिका र अफ्रिकी मुलुकमा उत्पादित कृषिजन्य वस्तुसमेत आयात गरेर हाम्रो भान्सामा पाक्ने गरेको छ । जनसंख्याको ठूलो हिस्सा कृषिमा संलग्न हुादा पनि कृषिजन्य उत्पादन बढाउन सकिएको छैन । नेपालमा कुन-कुन देशबाट के-के आयात हुने गरेको छ त ?

धनकुटामा उत्पादित एभोकाडोले बजार पाउन नसकेको गुनासो किसानले गरिरहेका बेला युगाण्डाबाट मात्रै नेपालमा १ करोड ८७ लाख मूल्य बराबरकव ८२ हजार किलो आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघसम्म ९ खर्ब ८८ अर्बको वस्तु आयात हुादा १ खर्ब २७ अर्बको मात्रै निर्यात भएको छ । यसरी आयात भएका वस्तुमा नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ मात्र नभएर हाम्रै खेतबारीमा उत्पादन हुने कृषिजन्य वस्तुको हिस्सा पनि निकै ठूलो छ । ७ महिनामा नेपालीहरुले परम्परादेखि पाल्दै आएका पशुचौपाया मात्रै ४९ करोड रुपैयाँको आयात भएको छ । ७० करोडको माछा र समुद्री जीव आयात भएको तथ्यांक छ ।

त्यति मात्रै होइन २०७६ सालमै आत्मनिर्भर घोषणा गरिएको दुग्घजन्य पदार्थ पनि ९० करोड रुपैयााभन्दा बढीको आयात भएको छ । त्यस्तै २५ अर्ब ८७ करोडको तरकारी, १२ अर्बको ३२ करोडको फलफूल, ३६ अर्ब ३५ करोडको खाद्यान्न आयात भएको छ । यो ७ महिनामा जनावरको दाना पनि १६ अर्बको भित्रिएको छ ।

फ्रान्स, स्पेन, अमेरिका र भारतबाट गैलस प्रजातिका १ लाख ५९ हजार वटा कुखुरा आयात भएको छ । त्यस्तै नेदरल्याण्ड र भारतबाट २१ हजार थान गुलाबको फूल भित्रिएको छ ।

भारत, मलेसिया, स्पेन, न्युजिल्याण्ड, बेलायत, अमेरिकाबाट १ लाख वटा हाास, कुखुरा, टर्कि र गिज आयात भएको छ । नेपालीले यो ७ महिनाको अवधिका मात्रै अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, बेलारुस क्रोएसियालगायतका ५० भन्दाबढी देशबाट पशुचौपाया आयात गरेका छन् । जिवित जनावर मात्रै होइन यो अवधिमा नेपालीले चीन, अस्ट्रेलिया, थाईल्याण्डलगायतका देशबाट ९ हजार ५ सय किलो प्रोजन मासु पनि आयात गरेका छन । लसुन मात्र चीन र भारतबाट ६ अर्बको ४ करोड किलो आयात भएको छ ।

नेपालका प्रायः जुनसुकै जिल्लामा उत्पादन गर्न सकिने सिमी २ अर्ब ५७ करोडको आयात भएको छ । यो अर्जेन्टिना, इथियोपिया, ब्राजिल, केन्या, कडागास्कर, भेनेजुएला, मोजाम्बिक जस्ता देशबाट भित्रिएको हो । त्यस्तै चीन, भारत, इजिप्ट र दक्षिण अफ्रिकाबाट झन्डै ६ अर्बको ८४ लाख किलो सुन्तला भित्रिएको छ । यि सबै वस्तु मध्ये धेरैजसो नेपालमै उत्पादन गर्न सकिन्छ ।

सरकारले पनि उत्पादन बढाउन कार्यक्रम ल्याएको कुरा गर्छ तर परिणाम त्यस्तो छैन । नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयात बढ्दा देशको व्यापार घाटा बढ्दो छ । कृषिजन्य वस्तुको मात्रै बर्सेनि ४ खर्बभन्दा बढीको आयात हुने गरेको छ । सरकारले उत्पादकत्व बढाएर देशलाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने घोषणा गरे पनि त्यो केबल नारामा सीमित हुँदै गएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement