४५ दिनदेखि जारी महाकुम्भ मेला सकियो, ६४ करोडले गरे गंगा स्नान

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
४५ दिनदेखि जारी महाकुम्भ मेला सकियो, ६४ करोडले गरे गंगा स्नान

काठमाडौं । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला आज समापन भएको छ ।

विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् ।

यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो । अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले महाकुम्भमा भएको अभूतपूर्व भेलाको समाचारलाई कभर गर्दै अमेरिकाको समग्र जनसंख्या भन्दा बढी श्रद्धालु प्रयागराज पुगेको जनाएको छ ।

यस्तै अन्य थुप्रै विदेशी समाचारमाध्यमले पनि प्रमुखकताका साथ यो मेलाको समाचार सम्प्रेषण गरेका छन् । मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए ।

महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए । यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ । महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो ।

महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो ।

गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ आज फेब्रुअरी २६ मा सकिएको हो । यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए ।

यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतिका रुपमा रहेको थियो । मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तिमा ३० जनाले ज्यान गुमाए भने अन्य ६० जना घाइते भएका थिए ।

यस्तै महाकुम्भ मेला भर्न जानका लागि प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा भएको धकेला-धकेलमा दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५मा कम्तिमा १८ जनाको मृत्यु भएको थियो । यस्तै महाकुम्भ मेलाबाट फर्किने क्रममा मोटर दुर्घटनामा परेर कम्तिमा तीन नेपालीले समेत ज्यान गुमाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement