नवलपरासी । इन्दिरा सुगर मिलले रकम भुक्तानी नगरेपछि पश्चिम नवलपरासीमा उखु खेती गर्ने किसान समस्यामा परेका छन् ।
प्रतापपुर गाउँपालिका ८ मा रहेको इन्दिरा सुगर मिलले किसानसँग उधारोमा उखु खरिद गरेको यो सिजनको भुक्तानी नदिएपछि किसान समस्यामा परेका हुन् ।
उद्योगले भुक्तानी नदिएको भन्दै किसानले गुनासो गरेपछि प्रतापपुर गाउँपालिकाले तत्काल किसानको बक्यौता भुक्तानी गर्न पत्राचार गरेको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवंम उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले जिल्लाका अन्य चिनी उद्योगले भुक्तानी दिए पनि इन्दिरा सुगर मिलले भने यो सिजनमा भुक्तानी नै नदिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा उद्योगले उखु क्रसर गरेको १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । जिल्लामा इन्दिरा, लुम्बिनी, बागमती खांडसारी र तत्व फर्मा प्रालिले यस वर्ष उखु क्रसिङ्ग गरिरहेका छन् ।