काठमाडौं । विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरू भएको छ । बिहान ९ बजेबाट बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा सुरू भएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी सहित महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी छन् ।
शुक्रबारबाट सुरू हुने संसद्को हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरूले आफ्नो धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।
भोलिको संसद् बैठकमा सत्तापक्षले अध्यादेशको प्रतिरक्षा गर्ने तयारी गरिरहँदा विपक्षी दल भने विरोधमा उत्रने रणनीतिमा छ ।