किवी खेतीबाट मनग्य आम्दानी गर्दै प्युठानका किसान, ढुवानी र बजारीकरणमा स्थानीय तहको सहयोग

माघ ७, २०८१ |शमशेरविक्रम जीसी
किवी खेतीबाट मनग्य आम्दानी गर्दै प्युठानका किसान, ढुवानी र बजारीकरणमा स्थानीय तहको सहयोग

प्युठान । प्युठानको गौमुखी गाउँपालिका रजवारका किसानले पछिल्लो समय किवीको व्यावसायिक खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । यो वर्ष मात्रै प्युठानमा २२ क्वीन्टलभन्दा बढी किवी उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय बजारमा किवी प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्युठान गौमुखी गाउँपालिका रजवाराका नरेन्द्रबहादुर मल्ललाई अहिले बारीमा लटरम्म फलेको किवी टिप्न भ्याइनभ्याई छ । करिब २० रोपनी क्षेत्रफलमा उत्पादन गरेको किवी बजार पठाउन तयार भएसँगै उहाँ प्रायः बिहान, साँझ र बिदाको दिन बारीमै व्यस्त रहनुहुन्छ । 

शिक्षक समेत रहनुभएका नरेन्द्रले पछिल्लो ५ वर्षदेखि उत्तरी प्युठानको रजवारमा किवीको व्यावसायिक खेती गर्दै आउनुभएको छ । टिप्न तयार भएको किवी टिपेर घर ल्याएपछि त्यसलाई हातले ग्रेडिङ गर्ने र स्थानीय बजारमा पठाउने गर्नुहुन्छ । गत वर्ष करिब ४ लाख रुपैयाँ बराबरको किवी बिक्री गर्नुभएका नरेन्द्रले यो वर्ष १० क्विन्टल किवी बढी फलेकाले आम्दानी पनि दोब्बर हुने अपेक्षा गर्नुभएको छ ।

रजवाराकै गोवर्द्धन थापा मगरले पनि ८ रोपनी क्षेत्रफलमा किवी खेती गर्नुभएको छ । २०७६ सालमा किवीका बेर्ना लगाएर व्यावसायिक रूपमा किवी खेती गर्नुभएका थापाले यो वर्ष ३ क्विन्टलभन्दा बढी किवी उत्पादन गर्नुभयो । जसबाट पहिलो सिजनमै १ लाख रुपैयाँ आम्दानी गरिसक्नुभएको छ ।

प्युठानमा गौमुखी गाउँपालिकाको रजवारामा मात्रै किवीको व्यावसायिक खेती हुँदै आएको छ । यो वर्ष प्युठानमा २२ क्विन्टलभन्दा बढी किवी उत्पादन भएको छ । समुद्री सतहबाट ८०० मिटरदेखि हिउँ नपर्ने २००० मिटरको उचाइको फराकिलो क्षेत्रमा यसको खेती गर्न सकिन्छ । किवीको व्यवसायिकीकरणका लागि स्थानीय तहहरूले पनि ढुवानी र बजारीकरणमा टेवा पुर्‍याएका छन् ।

किवीको उत्पादन र खेतीको क्षेत्रफल बर्सेनि बढ्दा किसानलाई थप व्यवस्थित बजारको आवश्यकता छ । त्यस बाहेक किवीका विषयमा पर्याप्त प्राविधिक ज्ञान नहुँदा पनि किसानले समय समयमा समस्या झेल्नु परेको छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement