काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव गर्नुभएको छ ।
बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । चालू केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्तावलाई छलफल गरी अन्तिम निर्णय गर्ने छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद् पुनःस्थापनाको पक्षमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको छ ।
यसका लागि सबै दल, संघ-संस्था बौद्धिक समुदाय तथा नागरिक समाज एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ । सरकारले तोकेको समयमा चुनाव नहुने पनि उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले कसैले फेसबुकमा भनेको भरमा र अखबारबाजी गरेको भरमा आफू नेतृत्वबाट नहट्ने पनि जिकिर गर्नुभयो । केन्द्रीय कमिटीले आदेश दिने हो भने चाहिँ आफू जे पनि गर्न तयार रहेको उहाँको भनाइ छ ।
उहाँले विगतमा पार्टी छाडेर जानेहरुलाई पुनः फर्कन पनि आह्वान गर्नुभयो । बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले भदौ २४ को घटना विभिन्न शक्ति राष्ट्रहरुले शीतयुद्धपछि विभिन्न मुलुकमा गर्दै आएको 'कलर रिभोलुसन' अभ्यासकै निरन्तरता भएको दाबी गर्नुभयो ।
यो परिवर्तनको उद्धेश्य सरकार परिवर्तनमात्र नभइ राष्ट्रियता, लोकतन्त्र र संविधानलाई नै समाप्त पारेर मुलुकलाई भूराजनीतिक भुमरीमा फसाउने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने उद्देश्य रहेको टिप्पणी उहाँको छ ।
उहाँले सरकार चुनाव गराउने बाटोमा अग्रसर नभएको र राजनीतिक दलहरूसँग संवाद गर्नुको साटो उनीहरूलाई निषेध गर्ने काम गरिरहेको आरोप पनि लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रतिवेदनमा भदौ २३ र २४ को घटनाबारे गठित न्यायिक आयोगलाई अस्वीकार गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र एवं निष्पक्ष आयोग गठनको मागसमेत गर्नुभएको छ ।