काठमाडौंमा पक्राउ परेका श्रीलंकाको भूमिगत गिरोहका ६ जना डिपोर्ट

भूमिगत गिरोहका नाइके सञ्जीवा कुमारा समारारत्ने हत्याका आरोपी भएको प्रहरीको भनाइ
आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा पक्राउ परेका श्रीलंकाको भूमिगत गिरोहका ६ जना डिपोर्ट

काठमाडौं । श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोहका नाइके सञ्जीवा कुमारा समारारत्ने हत्याका आरोपी ६ जनालाई नेपाल सरकारले पक्राउ गरेर श्रीलंका डिपोर्ट गरेको छ । 

काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबार सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि डिपोर्ट गरिएको हो । उनीहरु काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको थियो ।

पक्राउ पर्नेमा इसारा सेउबन्दी, जीवथासन कनाकरासा, ठाक्सी नन्थाकुमार, दिनेश श्यामन्था दि सिल्भा, केनेडी बस्टिम्पिल्लै र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे छन् । उनीहरूमध्ये इसारा सेउबन्दी २०८० साल फागुन ७ गते कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन् ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी थियो । पक्राउ परेका मध्ये सबै श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहको भएको प्रहरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.