पोषणयुक्त रैथाने बाली छायाँमा

माघ २, २०८१ |सुमन पन्थ
पोषणयुक्त रैथाने बाली छायाँमा

काठमाडौं । स्वस्थ जीवन र पर्यावरणका लागि 'कृषि जैविक विविधता' भन्ने नाराका साथ यस वर्ष सरकारले तीन दिनसम्म राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदै छ । प्रचारात्मक कार्यक्रम गरी दिवस मनाइरहँदा हाम्रा पोषकयुक्त रैथाने बाली भने छायाँमा परेका छन् । आयातित खाद्य वस्तुले बजार लिँदा रैथाने वस्तु ओझेलमा परेका हुन् ।

जैविक विविधताले सम्पन्न राष्ट्रमध्ये नेपाल ४९ औं स्थानमा छ । हिमालदेखि पहाड र तराईसम्म वर्षौदेखि रैथाने बालीको उत्पादन हुने गरे पनि उपभोग बढ्न सकेको छैन । कोदो, फापर, जौ लगायतका बाली र गिठा, भ्याकुर, तरुल जस्ता कन्दमूलको उपभोगको बानी कम छ । जबकि यस्ता रैथाने बाली र कन्दमूल पौष्टिक तत्त्वले भरिपूर्ण छन् । तर नेपालीले यस्ता वस्तुको उपभोग गर्न छाडेर आयातित खाद्यवस्तुमा निर्भर हुने बिडम्बना भएको विज्ञको भनाइ छ ।

“रैथाले बाली भनेको पोषणको भण्डार । कन्दमूलकै कुरा गर्दा त्यसमा प्रशस्त मात्रामा मिनरल पाइन्छ, फाइबर पाइन्छ जसले गर्दा पचाउन सजिलो र क्यान्सर पनि हुँदैन । यस्तो औषधि हाम्रो घरमै छ तर हामी चाहिँ बजारमा पाउने सजिलो अस्वस्थकर खानेकुरा खाइरहेका छौं”, खाद्यविज्ञ जीवनप्रभा लामाले बताउनुभयो ।

त्यसो त पछिल्लो समय केही होटल तथा रेष्टुराँले आफ्नो मेनुमा कोदो, फापर जस्ता रैथाने बालीका परिकार राख्न थालेका छन् । तर त्यो पर्याप्त छैन । यस्ता रैथाने बालीको उत्पादन भने झन् झन् घट्दो छ । गत वर्ष ४ करोड ६१ लाखको फापर र ७५ करोड ४४ लाखको कोदो आयात भएको थियो । जबकि यस्ता बाली नेपालमै पर्याप्त उत्पादनको सम्भावना छ ।

तर कोदोको उत्पादन ३ लाख टन हाराहारीमा मात्र छ । त्यस्तै फापर, कागुनो, जौ जस्ता बालीको उत्पादन बढाउन सकिएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रैथाने बालीको उत्पादन बढाउन र खाद्य सुरक्षा कायम गर्न पालिका मार्फत् सशर्त अनुदान दिने गरेको छ । तर यसले परम्परागत बालीको उत्पादन बढाउन र स्थानीयस्तरमा रोजगारी बढाउन पर्याप्त सहयोग पुगेको छैन ।

जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सुरक्षाको चुनौती थपिरहेको छ । यो अवस्थामा हाम्रा रैथाने बालीले जलवायु परिवर्तनको सामना गर्न सक्ने अध्ययनहरूले देखाएका छन् । आउँदा दिनमा खाद्य सुरक्षा कायम गर्न पनि यस्ता रैथाने बालीको संरक्षण, उत्पादन र उपभोग बढाउन राष्ट्रिय अभियान नै सञ्चालनको खाँचो छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement