काठमाडौं । घर निर्माण गर्दा सजावटलाई विशेष ध्यान दिने गरिन्छ । निजी हुन् या व्यावसायिक भवन, अथवा होटेल, आकर्षक देखाउन सफा र चिल्ला टायल लगाउने प्रचलन बढ्दै गएको छ । तर यस्ता टायल भने विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।
यसरी हरेक वस्तु आयात गर्दा व्यापार घाटा चुलिँदै गएको समयमा लुम्बिनी सेरामिक्स ग्रुपले देशलाई टायलमा आत्मनिर्भर बनाउन बर्दियाको गुलरियामा ४ अर्ब लागतमा नेपालको पहिलो भिट्रिफाइड टायल उद्योग सञ्चालनमा ल्याएको छ । उत्पादित टायल निर्यात गर्ने समेत उद्देश्य कम्पनीको छ ।
गत भदौदेखि सञ्चालनमा आएको लेमिनार टायल उद्योगले अहिले ३ सयभन्दा बढी स्वदेशी र विदेशीलाई रोजगारी दिइरहेको छ । अत्याधुनिक प्रविधिबाट स्थापना भएको उद्योगले साढे ५ सयभन्दा बढी प्रकारका दैनिक १ करोड ४ लाख वर्गफिट भिट्रिफाइड टायल उत्पादन गर्दै आएको छ ।
“अहिले हामी भारतको राजस्थानबाट कच्चा पदार्थ ल्याएर टायल उत्पादन गरिरहेका छौं । छिट्टै डडेलधुरामा रहेको हाम्रो खानीबाट उत्पादन सुरू हुन्छ त्यसपछि लागत घटेर भारतसँग प्रतिस्पर्धा गर्न पनि हामी सक्षम हुन्छौं”, लुम्बिनी सेरामिक्स ग्रुपका निर्देशक अभिनव चुरिवालले बताउनुभयो ।
लुम्बिनी सेरामिक्स समूहले इटाली र स्पेनको प्रविधिको प्रयोग गरेर टायल उत्पादन गरिरहेको छ, जसका लागि भारतको राजस्थानबाट माटो ल्याउने गरेको छ । चाँडै नै डडेलधुराबाट ५० प्रतिशत कच्चापदार्थ ल्याउने तयारी कम्पनीको छ । राजस्थानबाट ल्याएको कच्चापदार्थ (माटो)लाई ७ घण्टासम्म मिक्स गरेर क्लेज बनाइन्छ । क्लेजलाई भट्टीमा पकाएर पाउडर बनाएपछि ५ हजार टनले थिचेर टायल बनाइन्छ ।
अहिले नेपालमा वार्षिक २० अर्ब मूल्य बराबरका टायल खपत हुने गरेको अनुमान छ । टायलको बढ्दो मागलाई मध्यनजर गर्दै आधा दर्जन जति टायल उद्योग नेपालमा खुलेका त छन् । तर, उपभोक्ताको रोजाइमा भारत, चीन, भियतनामबाट आयात गरिएका टायल नै पर्ने गरेका छन् । उपभोक्ताको मन जितेर आन्तरिक माग धान्न मात्रै होइन निर्यात समेत गर्ने उद्देश्यले बर्दियाको गुलरियामा भिट्रिफाइड टायल उद्योग सञ्चालनमा ल्याएको उद्योगको भनाइ छ ।