सरकारले सार्वजनिक गरेको आर्थिक वृद्धिको तथ्यांकले अर्थतन्त्र सुधार भएको देखिएको हो ?

पुस २५, २०८१ |सुदिल पोखरेल
सरकारले सार्वजनिक गरेको आर्थिक वृद्धिको तथ्यांकले अर्थतन्त्र सुधार भएको देखिएको हो ?

काठमाडौं । उद्योगीले उत्पादन बढाउन नसकेको र व्यापारीले व्यापार हुन नसकेको बताइरहँदा सरकारले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि भएको देखाएको छ । रोजगारीको अभावमा युवा विदेशिने क्रम चलिरहँदा सरकारले सार्वजनिक गरेको आर्थिक वृद्धिको तथ्यांकले देशको अर्थतन्त्रमा सुधार भएको देखिएको हो त ?

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.४ प्रतिशतले देशको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ४.६ प्रतिशतले वृद्धि भएकोमा २०८०/८१ को सोही अवधिमा ३.६ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । विगतका दुई आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष कम वृद्धि भएको सरकारी तथ्यांकले नै पुष्टि गरेको छ । यसले देशको आर्थिक अवस्था सुधारकै क्रममा रहेको देखाए पनि सरकारले लिएको ६ प्रतिशतको वृद्धि भेट्न मुस्किल हुने देखिन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मी भन्नुहुन्छ, “गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा मात्र राम्रो गरेको हो । समग्रमा राम्रो होइन । समग्रमा चाहिँ अर्थतन्त्र सुधारोन्मुख छ । तर अझै धेरै कुरा हासिल गर्न बाँकी छ । औद्योगिक क्षेत्र लगायत अन्य क्षेत्रले पनि राम्रो गरेको होइन, थोरै आर्थिक प्रगति गरेको हो । व्यापार व्यवसायमा खासै प्रगति देखिएन ।”

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निर्माण क्षेत्र त ऋणात्मक अवस्थामा पुगेको छ । निर्माण क्षेत्र चलायमान हुन नसकेका कारण योसँग सम्बन्धित खानी उद्योग ०.४ प्रतिशत मात्र बढेको देखिएको छ । व्यापार व्यवसायमा सुधार आउन नसकेको खुद्रा तथा होलसेल ब्यापारमा भएको सामान्य वृद्धिले पुष्टि गरेको छ । सरकारी आँकडाबाट निजी क्षेत्र पनि आशावादी हुन सकेको छैन । अहिलेको तथ्यांकले देशको अर्थतन्त्रलाई सरकारले सुधारको बाटो लैजान नसकेको देखिएको निजी क्षेत्रको भनाइ छ ।

“केही मात्रामा आर्थिक सुधारका नीति नआएको होइन, आएका छन् । व्यापारमा पनि सहजीकरण गरिएको छ । तर जुन हाम्रो उद्देश्य र लक्ष्य थियो त्यो अनुसार अहिलेसम्म सुधार हुन सकेको छैन”, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभयो ।

उत्पादनमूलक उद्योगको वृद्धि २.३ प्रतिशतले बढेको छ । अन्य क्षेत्रमा अत्यन्त न्यून वृद्धि देखिँदा पनि ऊर्जा क्षेत्रमा ३.४ प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाएको छ । विद्युत् तथा ग्याँसमा २१.४ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस बाहेक पर्यटन र यातायातको क्षेत्रले पनि वृद्धिलाई सहयोग पुर्‍याएको छ । तर विज्ञहरू सरकारी आकलनमै विश्वस्त हुन सकेका छैनन् । यही गतिले सरकारको लक्ष्य हासिल गर्न कठिन हुने अर्थविद् डिल्लीराज खनालको बताउनुहुन्छ ।

देशमा वार्षिक एक प्रतिशत बराबरको जनसंख्या वृद्धि हुने गरेको मानिन्छ । एक प्रतिशतको जनसंख्या वृद्धिमा भएको तीन प्रतिशतको आर्थिक वृद्धि नगन्य हो । त्यसमाथि रोजगारी तथा उत्पादनका क्षेत्रमा भएको नगण्य सुधारले सरकारले दाबी गरे जस्तो अर्थतन्त्र बलियो छ भन्ने अवस्था देखिँदैन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement