काठमाडौं । नेपाल वायु सेवा निगम १५ दिनदेखि आन्तरिक उडानविहीन भएको छ । भएका दुई जहाजमध्ये एउटाको गत वैशाखमा र निजी क्षेत्रका विमान कम्पनीहरुले धमाधम विमान र गन्तव्य थपिरहेका छन् । तर, सरकारी नेपाल वायुसेवा निगम भने ठीक उल्टो गतिमा छ ।
अवस्था यस्तोसम्म छ कि, निगमले १५ दिनदेखि आन्तरिक उडानविहीन भएको छ । भएका दुईवटा जहाजमध्ये एउटाको गत वैशाखमा र अर्कोको १५ दिनअघि इन्जिन आवर सकिएपछि निगमसँग अहिले आन्तरिक उडानका लागि कुनै जहाज छैन । नयाँ इन्जिन आउने पनि टुंगो अझै लागेको छैन । तर, सरकार भने जहाजविहीन विषयमा चुप लागेर नबसेको बताउँछ ।
'चुप लागेर बसेका छैनौं, अलग अलग विभागसँग ब्रिफिङ लिएका छौं । सरकारबाट प्रतिनिधित्व गर्ने सह-सचिवलाई राम्रोसँग सुभपरभिजन गर्न पनि भनेका छौं,' पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भन्नुभयो ।
अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी र २ वटा वाइबडी रहे पनि उडान गन्तव्य थपेर बजार बिस्तार गर्न सकेको छैन । २०४४/४५ सालतिर निगमले देशका दुर्गम क्षेत्रसम्मै सेवा त दिएको थियो नै लण्डन, दुबई, कराची, मुम्बई जस्ता ठूला सहरमा उडान भरेर राम्रै नाफा कमाउने गरेको थियो ।
आर्थिक बर्ष २०४४/४५ मा साढे ५ करोड अमेरिकी डलरको कारोबार गरेको निगमले १ करोड ७० लाख डलर नाफा आर्जन गरेको थियो । तर निगम अहिले ५० अर्बभन्दा बढी नोक्सानीमा रहेको छ । सुधारका लागि सरकारपिच्छेका मन्त्रीले समिति, आयोग तथा कार्यदल बनाएर प्रतिवेदन बुझाए पनि सुधार गर्नै सकेका छैनन् ।
नेपाल वायुसेवा निगम सुधार कार्यदल संयोजक दीपेन्द्रबहादुर क्षेत्री निजीकरण गरेर त्यसको सम्पत्तीमा हालीमुहाली गर्ने लोभले हाम्रो राजनीति नेतृत्वले राष्ट्रको सम्पत्ती हो भनेर बुझ्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'निजीकरण गरेर त्यसको सम्पत्तीमा हालीमुहाली गर्ने लोभले हाम्रो राजनीति नेतृत्वले राष्ट्रको सम्पत्ती हो भनेर बुझ्न चाहेका छैनन् ।'
भ्रष्टाचार, राजनीतिक भर्ती र कमजोर व्यवस्थापनले थलिँदै गएपछि निगम निरन्तर ओरालो गतिमा छ । २०४६ यता नै निगममा आधा दर्जनभन्दा बढी अर्बौंका घोटाला भइसकेका छन् । पछिल्लो पटक गत मंसिरमा निगमको वाइडबडी खरिदको विषयमा विशेष अदालतले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ ।