६ महिनामा सूर्यविनायक नगरपालिकाको बजेट खर्च १६ प्रतिशत मात्रै

पुस १९, २०८१ |सुन्दर शिल्पकार
६ महिनामा सूर्यविनायक नगरपालिकाको बजेट खर्च १६ प्रतिशत मात्रै

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा कूल बजेटको १६ दशमलब ०१ प्रतिशतमात्र बजेट खर्च भएको छ ।

नगरपालिकाको १७औं अधिवेशनमा प्रगति विवरण पेश गर्दै सूर्यविनायक नगरपालिका भक्तपुरका प्रमुख बासुदेव थापाले कूल बजेटको १६ प्रतिशतमात्रै खर्च भएको जानकारी दिनुभयो ।

नगरको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । ६ महिनामा नगरको कुल बजेटको ३५ करोड ८६ लाख ५० हजार रुपैयाँ खर्च भएको नगरप्रमुख थापाले बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ २३ करोड ४१ लाख ९१ हजार रुपैयाँ र पूँजिगततर्फ १२ करोड ४४ लाख ५९ हजार खर्च भएको छ ।

प्रमुख थापाले चालु आर्थिक वर्षको दुई महिना वर्षा, लगत्तै चाडपर्व जस्ता कारणले अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेको बताउनुभयो । चालु आर्थिक वर्षका बाँकी ६ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेकाले त्यसपछि बजेट खर्चको अवस्था सुधार हुने र आर्थिक बर्षको अन्त्य सम्ममा ९० प्रतिशत भन्दा बढी बजेट खर्च हुने नगर प्रमुख थापाको भनाई छ ।

नगरपालिकले सबै भन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ । यसैगरी, नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ११ करोड ८८ लाख ५ हजार ७ सय ३ रूपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको उपप्रमुख सरिता तिमसिना भट्टराईले जानकारी दिनुभयो । गत आर्थिक वर्षको ६ महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८ सय ५१ रूपैयाँ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement