बचतकर्ताको विश्वास जितिरहेको नवजीवन सहकारी

पुस ४, २०८१ |टेकराज जोशी
बचतकर्ताको विश्वास जितिरहेको नवजीवन सहकारी

कैलाली । पछिल्लो समय एकपछि अर्को गर्दै सहकारी ठगीका घटना सार्वजनिक भइरहँदा आम मानिसको विश्वास डगमगाएको छ । तर कैलालीको धनगढीमा तीन दशकअघि स्थापना भएको नवजीवन कृषि तथा साना व्यवसाय सहकारीले भने सुदूरपश्चिमका नागरिकको विश्वास मात्रै जितेको छैन धेरैको जीवनस्तर उकास्नमा महत्त्वपूर्ण योगदान गरेको छ ।

२०५० सालमा ६४ जना शेयर सदस्य मिलेर सहकारी ऐन अन्तर्गत दर्ता भएर सञ्चालनमा आएको नवजीवन सहकारी संस्थामा हाल ३५ हजार १३१ शेयर सदस्य छन् । उनीहरूले ५ हजारदेखि २५ लाखसम्मको शेयर लिएका छन् । सहकारीमा ३० करोड ६५ लाख शेयर पूँजी जम्मा भएको छ भने ५ अर्ब ९५ लाख निक्षेप जम्मा छ । सहकारीले आफ्ना शेयर सदस्यहरूलाई ४ अर्ब ७ करोड लगानी गरेको छ । ४८ करोड ३४ लाख जगेडा कोष रहेको सहकारीले कैलाली, कञ्चनपुर, बर्दियाका १० शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । सरकारी सरहको सेवा सुविधा पाउने गरी १२२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सहकारीले कृषि र व्यवसाय क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर ऋण प्रवाह गर्छ । शून्य लगानी भएका धेरै शेयर सदस्यले नवजीवनबाटै ऋण लिएर ठूलो व्यवसाय गर्न सफल भएका छन् ।

सहकारीले हरेक ४ वर्षमा निर्वाचन मार्फत १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन गर्छ । कृषि क्षेत्रलाई अझै प्राथमिकता दिने योजना सहित सहकारीले गोदावरी नगरपालिकाको मझगाउँमा डेढ बिघा जमिनमा डेढ करोड लागतमा धान कुट्ने प्लान्ट स्थापना गरिसकेको छ । सरकारी मूल्यमै शेयर सदस्यको उत्पादन खरिद गरी आफ्नै ब्रान्ड तयार गरेर सुपथ मूल्यमा बिक्री वितरण गर्ने योजना छ ।

नियमनकारी निकायले निगरानी गर्न नसक्दा अहिले कैयौं सहकारीले अर्बौं रुपैयाँ अपचलन गरेर बचतकर्तालाई घर न घाटको बनाएका छन् । त्यसैले नवजीवन जस्ता सहकारीलाई प्रोत्साहन गरी आम बचतकर्ताको विश्वास जित्न आवश्यक छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement