मोरङ । कोशी प्रदेशका १५ वटा सिमेन्ट उद्योगमध्ये १३ वटाले अरूबाट क्लिङकर किनेर सिमेन्ट उत्पादन गर्छन् । १३ मध्ये सात वटा उद्योग डेढ वर्षदेखि बन्द छन् भने चलिरहेका ६ उद्योगले पनि क्षमताको २० देखि ३० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । अरूबाट क्लिङकर किनेर ग्रान्डिङ गरी उद्योग सञ्चालन गर्न नसकिने भन्दै उद्योगीले सरकारसँग उद्योग बन्द गर्ने अनुमति माग्न थालेका छन् ।
कोशी प्रदेशको उदयपुरमा एक, धनकुटामा एक, सुनसरीमा एक, मोरङमा चार र झापामा आठ गरी १५ वटा सिमेन्ट उद्योग छन् । १५ मध्ये सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र धनकुटाको निगाले सिमेन्ट मात्रै आफैं क्लिङर उत्पादन गर्ने उद्योग हुन् ।
सरकारी उदयपुर सिमेन्ट उद्योग सधैंजसो बन्द हुन्छ भने धनकुटाको निगाले सिमेन्टले क्षमताको एकतिहाइ मात्रै उत्पादन गरिरहको छ । बाँकी १३ मध्ये सुनसरीको एक, मोरङका तीन र झापाका तीन गरी सात उद्योग डेढ वर्षदेखि बन्द छन् । मोरङको एउटा र झापाका पाँच वटा उद्योग भने २० देखि ३० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । राति बिजुलीमा छुट पाइने भएकाले राति चार घण्टा उद्योग सञ्चालन गर्ने गरेको उद्योगीको भनाइ छ ।
सरकारले पूँजीगत खर्च गर्न नसक्नु, ठूला आयोजना निर्माण नगर्नु, सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम बक्यौता रहनु, भारतले भारतीय गुणस्तर प्रमाणपत्र नलिएको भन्दै नेपाली सिमेन्टमा रोक लगाउनु, नागरिकले पनि नयाँ घर निर्माण नगरेका कारण सिमेन्टको माग घट्न गई उद्योग बन्द भएको उद्योगी व्यवसायीको तर्क छ ।
कोशी प्रदेशका ग्रान्डिङ गरी सिमेन्ट उत्पादन गर्ने १३ वटा उद्योगमा २० अर्बभन्दा बढी लगानी भएको छ । सबै उद्योग चल्दा तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग सञ्चालन नहुँदा मजदूरको रोजगारी गुम्नुका साथै उद्योगीलाई बैंकको ऋण तिर्न समस्या छ ।
मुलुकमा आफ्नै क्लिङकरबाट सिमेन्ट उत्पादन गर्ने २१ वटा उद्योग भएको र यिनले मुलुकको धान्न सक्ने भन्दै ग्रान्डिङ सिमेन्ट उद्योगलाई रुग्ण घोषणा गरी सरकारले बन्द गर्ने अनुमति दिनुपर्ने उद्योगीको माग छ ।