रूपन्देही । सिजनका वेला मलको सधैं अभाव खेप्नु पर्ने नेपाली किसानका लागि खुशीको खबर छ । किनभने अब स्वदेशमै उत्पादित डीएपी मल प्रयोग गर्न पाइने भएको छ । नेपालमै पहिलो पटक रूपन्देहीको रोहिणी गाउँपालिकामा ३० करोड लगानीमा डीएपी मल कारखाना सञ्चालनमा आएको हो ।
मल कारखाना पाँच बिघामा फैलिएको छ । ‘ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि’ले एक वर्षसम्म बोटबिरुवा र अन्नबालीमा गरेको परीक्षण सफल भएपछि अहिले बजारमा मल ल्याएको हो । सूक्ष्मपोषक तत्त्व, निम खली, बोन मिल, एसिटोब्याक्टर, बेन्टोनाइट, फास्फेट जस्ता आठ अर्ग्यानिक तत्त्वको समिश्रणबाट रत्नम दानेदार डीएपी मल तयार भएको हो ।
परीक्षणका क्रममा रत्नम दानेदार मलको प्रयोगले माटोको भौतिक, रासायनिक र जैविक गुणस्तरमा सुधार ल्याएपछि सरकारले मल सूचीकृत गरेर प्रयोगका लागि अनुमति दिएको छ । यो मलमा बिरुवा र माटोलाई चाहिने १४ प्रकारका तत्त्व पाइन्छ । नाइट्रोजन, फस्फोरस र पोटासियमले माटोको उर्वराशक्ति बढाउँछ । क्याल्सियम, आइरन, बोरन र म्यागनेसियमले बोटबिरुवा स्वस्थ राखी उत्पादकत्व बढाउँछ । सूक्ष्मजीवको संख्या बढाई माटोको संरचनामा सुधार ल्याउँछ । जलधारण क्षमता, रोग प्रतिरोग क्षमता जस्ता कारणले दीर्घकालसम्म माटोको गुणस्तर र उत्पादकत्व बढाउन सहयोग गर्दछ । अत्यधिक र अनियन्त्रितरूपमा रासायनिक मलको प्रयोगले माटो झन्झन् बिग्रिँदै गइरहेका वेला माटोको उपचारका लागि पनि यो अर्ग्यानिक मल विकल्पका रूपमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
३० करोड लगानी गरी बनाइएको यो उद्योगको क्षमता दैनिक दुई सय मेट्रिक टन मल उत्पादन गर्ने रहेको छ । सुरूआती चरण भएकाले अहिले ४० प्रतिशत क्षमतामा उद्योग सञ्चालन भइरहेको छ । तराईको हकमा प्रतिकठ्ठा पाँच किलो र पहाडमा प्रति रोपनी १२ किलो मल प्रयोग गर्नु पर्ने उद्योगले जनाएको छ । बाली लगाउनुपूर्व माटोसँग मिश्रण गरेर मल राखे उक्त बालीलाई पुनः मल प्रयोग गर्नु पर्दैन । बोटबिरुवा र अन्नबालीमा गरेको परीक्षणमा उत्पादन र उत्पादकत्व राम्रो पाइएपछि आसपासका किसानले रत्नम दानेदार अर्गानिक डीएपी मल प्रयोग गर्न थालेका छन् । अन्य जिल्लाका किसानलाई पनि यसबारेमा जानकारी दिन कम्पनी प्रतिनिधिहरू खेतखेतमा गएर परीक्षण प्रदर्शन गरिरहेका छन् ।