तरकारीको मूल्य ७ सय ५० प्रतिशतसम्म वृद्धि

मागअनुसार आपूर्ति हुन नसकेको बहानामा व्यापारीको मनपरी
अनुगमन नहुँदा उपभोक्ता मारमा
मंसिर १५, २०८१ |भरत रावल
तरकारीको मूल्य ७ सय ५० प्रतिशतसम्म वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक भन्छ- महँगी सीमाभित्रै छ । तर गत वर्षको तुलनामा यो वर्ष तरकारीमा ७ सय ५० प्रतिशतसम्मले मूल्य बढेको छ । कतिसम्म भने मागअनुसार आपूर्ति हुन नसकेको भन्दै व्यापारीले मौसमी तरकारीको मूल्य नै मनपरी रुपमा बढाइरहेका छन् । तर सरकारले अनुगमन गरेको छैन ।

पोहोर मंसिर १५ गते काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा लोकल काउलीको प्रतिकिलो १० रुपैयाँमै पाइन्थ्यो । यसपालि ७ सय ५० प्रतिशत बढेर किलोकै ७५ रुपैयाँ पुगेको छ । त्यस्तै ज्यापु काउलीको भाउ ४ सय ५० प्रतिशतले बढेको छ । गत वर्ष मंसिर दोस्रो साता लोकल गोलभेडाको १८ रुपैयाँमै पाइन्थ्यो ।

यसपालिको मंसिरमा ४ सय ३१ प्रतिशतले बढेर ७७ रुपैयाँ पुगेको छ । टनेलको गोलभेडाको भाउ पनि ३ सय १९ प्रतिशतले बढेको छ । गत वर्ष किलोको ४५ रुपैयाँ पर्ने रातो आलु यो वर्ष ६५ रुपैयाँ पुगेको छ । लोकल गाजरको मूल्य १ सय ७२ प्रतिशतले बढ्दा तराईको गाजरको मूल्य ३ सय प्रतिशत र बन्दागोभी ६६ प्रतिशतसम्मले बढेको छ । बेमौसमी तरकारीको मूल्य त झन् छोइनसक्नु छ ।

मंसिरदेखि चैतसम्म तरकारीको मुख्य सिजन हो । यो समयमा तरकारीको मूल्य वर्षभरीकै सबैभन्दा कम हुनुपर्ने हो । तर यस वर्ष मुख्य सिजनमै तरकारीको मूल्य छोइनसक्नु छ । काउली, बन्दागोभी, मुला, रायोको साग, चम्सुर, पालुंगो, धनियाँ, हरियो लसुनजस्ता हिउँदे तरकारी बढी उत्पादन हुने समयमै मूल्य बढेको हो । आपूर्तिभन्दा माग बढी भएकाले मूल्य वृद्धि भएको दाबी व्यापारीको छ ।

वर्षात्‌का बेला बाढी, पहिरो र डुबानले तरकारी बालीमा ठूलो क्षति पुर्‍याउँदा उत्पादन कम भएको दाबी व्यवसायीको छ । तर किसानसँग सस्तोमा किनेर व्यापारीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा पनि सरकारले अनुगमन गर्न नसक्दा मूल्य अकासिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

काठमाडौं उपत्यकामा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, धादिङ, चितवन र मकवानपुरमा उत्पादित तरकारी बढी आउने गरेको छ । त्यसबाहेक तराईका जिल्लाबाट पनि उत्तिकै तरकारी आउने गरेको छ । भारतबाटसमेत तरकारी आयात बढीरहेको छ ।

अहिले काठमाडौंमा दैनिक ७ टन तरकारीको खपत हुन्छ । तर उत्पादन र मागको अनुपात कस्तो छ भनेर सरकारले अनुगमन गर्न नसक्दा उपभोक्ता तरकारीमा चर्को मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement