साना आयोजनामै सीमित चिनियाँ लगानी

मंसिर १४, २०८१ |सुदिल पोखरेल
साना आयोजनामै सीमित चिनियाँ लगानी

काठमाडौं । बितेका १२ वर्षमा उद्योग विभाग अन्तर्गत नेपालमा स्वीकृत भएका वैदेशिक लगानीमध्ये ५३ प्रतिशत चिनियाँ रहेको छ । यस बाहेक लगानी बोर्ड मार्फत आएका केही ठूला चिनियाँ लगानी पनि नेपालमा नभएका होइनन् । तर लगानी भइसकेका आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्नुले थप ठूला लगानी आकर्षित हुन सकेको छैन ।

अर्कोतर्फ भारतले चिनियाँ लगानीमा उत्पादित बिजुली आयात नगर्ने नीति लिएपछि चिनियाँ लगानीकर्ता हच्किएका छन् । यसकारण पछिल्लो समय चिनियाँ लगानी ठूला परियोजनामा भन्दा साना खालका अर्थात १५ करोडमुनिका आयोजनामा मात्रै केन्द्रित हुन थालेको छ ।

उद्योग विभागले १२ वर्षमा चार खर्ब ९४ अर्बको लगानी स्वीकृत गरेको छ । जसमध्ये दुई खर्ब ६४ अर्ब अर्थात ५३ प्रतिशत चिनियाँ हो । यी सबै ६ अर्बभन्दा सानो आकारका वैदेशिक लगानी हुन् । ठूलो मात्रामा रहेको चिनियाँ लगानी पछिल्लो समय भने साना खालका व्यवसाय तथा उद्योगमा मात्रै सीमित भएको छ ।

गत आर्थिक वर्षमा तीन सय २३ वटा उद्योगमा चिनियाँ लगानी स्वीकृत भएको थियो । जसमा तीन सय १७ वटा साना हुन् भने ६ वटा मध्यम खालका हुन् । यी सबै ५० करोडमुनिका मात्रै हुन् । त्यसमाथिका लगानीका लागि चिनियाँ लगानीकर्ताबाट गत वर्ष प्रस्ताव नै आएन । ६ अर्बभन्दा माथिको लगानी, लगानी बोर्डले स्वीकृत गर्ने गरेको छ । नौ वर्षअघि लगानी स्वीकृत गरेर ३५ अर्बमा स्थापना भएको होङ्सी सिमेन्ट अहिले सञ्चालनमा छ । नेपालमा वैदेशिक लगानी मार्फत आएर सञ्चालनमा आएको यो नै अहिलसम्मको सबैभन्दा ठूलो परियोजना हो । यसपछि अर्को चिनियाँ लगानीमा सञ्चालन भएको हुवाजिन सिमेन्ट पनि अहिले सञ्चालनमा छ । तर चिनियाँ लगानी स्वीकृत भएका जलविद्युत् आयोजनामा भने पछिल्लो समय लगानीकर्ताको चासो कम हुँदै गएको छ ।

आर्थिक शिथिलताका कारण चिनियाँ लगानीमा स्थापित दुई वटै सिमेन्ट कम्पनीले क्षमता अनुसारको उत्पादन गर्न पाएका छैनन् । भारतले चिनियाँ लगानीमा उत्पादित जलविद्युत् नकिन्ने प्रस्टै बताएको छ। यति मात्रै होइन, निर्माण वा संचालनमा चिनियाँ कम्पनी संलग्न कुनै पनि आयोजनाको उत्पादन भारतले आयात गर्न मानेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका वेला चिनियाँ ठूला लगानी आर्षित गर्न सरकारले ठोस प्रस्ताव लैजानु आवश्यक रहेको विज्ञहरू बताउँछन्। नेपालकै बजारमा खपत हुने वा अन्य मुलुकमा निर्यात गर्न सक्ने गरी चिनियाँलाई विश्वस्त बनाउन सके मात्रै ठूला उद्योगमा चिनियाँ लगानी बढ्न सक्छ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।