धनकुटाको सहिदभूमिमा खेतान फाउण्डेशनको लगानी सुरू, गरिबी निवारण र विकासमा केन्द्रित हुने

कार्तिक १०, २०८२ |विनोद घिमिरे
धनकुटाको सहिदभूमिमा खेतान फाउण्डेशनको लगानी सुरू, गरिबी निवारण र विकासमा केन्द्रित हुने

धनकुटा । धनकुटा सहिदभूमि गाउँपालिकाको गरिबी निवारण र पूर्वाधार विकासमा सघाउ पुराउने लक्ष्यकासाथ व्यापारिक घरानाबाट सञ्चालित खेतान फाउण्डेशनले लगानी सुरू गरेको छ। 

फाउन्डेसनको लगानी सहिदभूमि गाउँपालिकाको गरिबी निवारण, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास तथा गुणस्तर सुधारमा केन्द्रित हुने बताइएको छ ।  खेतान फाउण्डेशनले धनकुटाको सहिदभूमि गाउँपालिकामा गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, घरेलु उद्यम प्रवर्द्धन तथा बजारीकरणमा सघाउने समझदारी पत्रमा आइतबार हस्ताक्षर भएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आगमी पाँचवर्ष भित्र पाँच अर्ब रूपैयाँ लगानी गर्ने गरी भएको उक्त समझदारी पत्रमा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र खेतान फाउण्डेशनका अध्यक्ष निर्मल मदनमान सिंहले हस्ताक्षर गर्नुभयो । 

समझदारीअनुसार यहाँको पूर्वाधार विकास, गरिबी निवारण, शिक्षा र स्वास्थ्यका नयाा पूर्वाधार निर्माण, विद्यालयमा सूचना प्रविधि प्रयोगशाला सञ्चालन तथा स्वरोजगार तालिमका कार्यक्रम सञ्चालन गर्नेछ । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा अघिबढ्ने परियोजनाको अधिकतम लगानी आधुनिक विद्यालय भवन, स्वच्छ खानेपानी, पुस्तकालय, शिक्षक-विद्यार्थीका लागि सूचना प्रविधि तालिम सञ्चालन तथा छात्रवृत्तिमा केन्द्रित हुनेछ । 

यस्तै स्वास्थ्य केन्द्रमा जनशक्ति, औषधी उपकरणको व्यवस्थापन, मातृशीशु स्वास्थ्य कार्यक्रम र आपतकालिन स्वास्थ्य सेवा सुदृढ बनाउने योजना छ । सहिदभूमि गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेशामा निर्भर छन् । प्रतिव्यक्ति आयमा पनि धनकुटाका अन्य सात स्थानीयतह मध्ये सहिदभूमि गाउँपालिका पछाडी छ । 

आधुनिक कृषि प्रविधि र बजार पहुँच नहुँदा किसानको आम्दानी सीमित छ । व्यवस्थित नभएकै कारण खनिएका सडकको साइनो स्थानीयको जीवन निर्वाहसँग जोडिन सकेको छैन् । २०३६ सालको बहुचर्चित छिन्ताङ हत्याकाण्डको नामले चिनिएको सहिदभूमि राजनितिक मात्र होइन, त्रीवेणीमा रहेको खुवालुङ र छिन्ताङ भगवती मन्दिरका नामले पनि प्रसिद्ध छ । 

अब हुने कामबाट यहाँको शिक्षा, स्वास्थ्य र गरिबी निवारण मात्र होइन, सडक यातायात, धार्मिक साास्कृतीक र पर्यटनका क्षेत्रमा समेत नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।