खेर गइरहेको टिम्मुर बेचेर ४० लाख

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
खेर गइरहेको टिम्मुर बेचेर ४० लाख

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीका किसानहरूले खोल्सा, पाखो र बारीका कान्लामा खेर गइरहेको मसलेदार जंगली फल टिम्मुर बेचेर ४० लाख रुपैयाँ नगद भित्र्याएका छन् । नगरपालिकाभित्र तोरीपानी, ढावा, धुपीबोट र ढोलठाना टोलका एक सय ५० घरपरिवारले खरबारी र पाखोबारीका कान्ला, खोल्सामा आफैं उम्रेका र रोपेका बोटबाट वार्षिक ७०-८० मुरी टिम्मुर उत्पादन गर्दै आएका छन् ।

हाडेटिम्मुरको चटनीको स्वाद सबैखाले ग्राहकले खोज्न थालेपछि प्रायः होटल, रेष्टुराँदेखि विदेशमा खुलेका नेपाली रेष्टुराँहरूमा अधिक माग रहेको छ । म्याग्दीको टिम्मुरको मुख्य बजार भने मुस्ताङ हो । बेनी, पोखरा, काठमाडौं र केही मात्रामा जापान, बेल्जियम, दक्षिण कोरिया, अमेरिका र केही अन्य यूरोपका देशमा पनि पुग्छ । विदेशमा खुलेका नेपाली रेष्टुराँहरूले यहाँको टिम्मुर काठमाडौं लगी काजगपत्र बनाई विदेश लैजाने गरेका छन् ।

स्वादिलो गरम मसलाको रूपमा प्रयोग हुँदै आएको टिम्मुरको माग र खपत जाडो याममा बढी हुन्छ । परम्परादेखि नै मुस्ताङेहरू जाडो छल्न बेंसी झर्ने र फर्कँदा टिम्मुर लैजाने गरेका थिए । टिम्मुरलाई अचार, चट्नी र मासुमा मसलाको रूपमा प्रयोग गरिन्छ । आधुनिक औषधि विज्ञानमा टिम्मुर सन्चो, टुथपेस्ट लगायतमा प्रयोग भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement