भारतले अनुमति नदिँदा प्रतिकूल मौसममा उडान अवतरणका लागि भैरहवा विमानस्थलमा जडान गरिएको प्रविधि प्रयोगविहीन

भूउपग्रहमा आधारित प्रविधि जोड्ने तयारी
मंसिर १२, २०८१ |भुवन पाण्डे
भारतले अनुमति नदिँदा प्रतिकूल मौसममा उडान अवतरणका लागि भैरहवा विमानस्थलमा जडान गरिएको प्रविधि प्रयोगविहीन

बुटवल । सातामा २३ अन्तर्राष्ट्रिय उडान गर्न थालेपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल क्रमशः चलायमान हुँदैछ । तर, पछिल्लो समय तराईको मौसम प्रतिकूल हुँदै जाँदा विमानस्थलमा जडित अत्याधुनिक दुई प्रविधिको प्रयोगमा भएको ढिलाइले कतै उडान रोकिने त होइन भन्ने प्रश्न उब्जिन थालेको छ ।

विमानस्थलले भने प्रतिकूल मौसममा समेत उडान अवतरण गर्ने प्रविधिको तयारी अन्तिम चरणमा पुगेको दाबी गर्दै उडानलाई गतिशील बनाउने जनाएको छ ।

जाडोयाममा तराईमा बाक्लो हुस्सु लाग्छ । भिजिबिलिटी निकै कम हुन्छ । विमान अवतरणकालागि १८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ । तर, बाक्लो हुस्सुका कारण बिहानमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु प्रभावित हुँदै आएका छन् । मौसम पूर्वानुमानकर्ता र पर्यवेक्षकले संकलन गरेका तथ्यांक र आधारलाई विश्लेषण गरी मौसमविद्हरुले हरेक ६ घण्टामा विमानस्थलको मौसम पूर्वानुमान गर्ने गरेका छन् ।

कतिसम्म भने मौसमको अवस्था हेरेर उडान तालिका निश्चित गर्ने गरेका छन् । जाडो सुरु भएयता मध्यान्नसम्म भिजिबिलिटी कम हुन थालेपछि अधिकांश विमान कम्पनीले दिउँसो र राति विमान उडान अवतरण गर्ने गरेका छन् ।

प्रतिकूल मौसमलाई मध्यनजर गरेरै मुलुकमै पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट लेन्डिङ्ग सिस्टम अर्थात् आईएलएस प्रविधि जडान गरिएको थियो । अहिले डिजाइन भएको फ्लाइट प्रोसिडरको थोरै क्षेत्रफल भारतीय एयर स्पेसमा पर्छ । भारतीय भू-भागमा पर्ने एयर स्पेसको क्षेत्र मानव निर्मित संरचना लगायतबाट सुरक्षित छ भनेर सुनिश्चित गर्न भारतको अनुमति बिना सकिँदैन ।

तर, एक अर्ब बढी लगानी गरेर जडान गरिएको प्रविधि सञ्चालनका लागि भारतले अनुमति नदिएपछि त्यो अहिले प्रयोगविहीन छ । विकल्पमा विमानस्थलले अहिले भू-उपग्रहमा आधारित प्रविधि आरएनपीएआर तयार गरिरहेको छ । जसको माध्यमबाट विमान आठ सय मिटरको भिजिबिलिटीमा अवतरण गर्न सक्छ ।

आरएनपीएआर प्रविधि तयारका लागि अन्तिम अवस्थामा पुगेकाले करिब दुई महिना परिक्षणपछि प्रयोमा आउने विमानस्थलले जनाएको छ । आइएलएस सञ्चालनका लागि भने भारतसँग कूटनीतिक पहल आवश्यक देखिएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement