काठमाडौं । सरकारले निर्माण व्यवसायीको रकम समयमै भुक्तान नगर्दाको असर बैंकसम्म पुगेको छ । अहिले पनि निर्माण व्यवसायीको ४५ अर्ब रुपैयाँ सरकारले भुक्तान गर्न बाँकी छ । सरकारले काम भइसकेको रकम नदिएकाले विकासका नयाँ काम गर्न व्यवसायीले आँट गर्न सकेका छैनन् ।
निर्माण व्यवसायीहरू आफूले गरिसकेको कामको बक्यौता लिन पटक-पटक अर्थ मन्त्रालय धाइसकेका छन् । सरकारले पटक-पटक गरेर २० अर्ब भुक्तान पनि गरेको छ । तर व्यवसायीले दाबी गरे अनुसारको रकम दिएको छैन । समयमै रकम नदिँदा निर्माण सामग्री उत्पादन गर्ने उद्योगसँगै बैंकको किस्ता समेत तिर्न नसकेको व्यवसायी बताउँछन् ।
पूरा रकम भुक्तान नगरेकाले निर्माण सामग्रीका उद्योगीहरू थप सामान नदिने मनसायमा छन् । पुरानो ऋण र नियमित ब्याज नतिरेकाले बैंकहरूले पनि व्यवसायीलाई रकम बढाउन चाहेका छैनन् । बरु मंसिरभित्रै सरकारले पूरै रकम भुक्तान नगरे पुनः कालोसूचीमा पर्ने भय निर्माण व्यवसायीमा छ । मंसिरसम्म भने चेक बाउन्सका कारण निर्माण व्यवसायीलाई कालोसूचीमा नराख्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सरकारले निर्माण व्यवसायीको रकम भुक्तान नगर्दा आर्थिक गतिविधि समेत चलायमान हुन सकेको छैन । त्यसले उद्योगको उत्पादन, कारोबार र रोजगारी समेत प्रभावित भएको जानकारहरूको बुझाइ छ ।