काठमाडौं । कर दिवसको अवसरमा शनिबार बिहान विरानटगरमा सचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी निकालिएको छ ।
आन्तरिक राजश्व कार्यालयबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीपछिआन्तरिक राजस्व कार्यालयमा औपचारिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दीपक पौडेलले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै आर्थिक अवस्था चलायमान बनाउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्ने उद्योगीहरूको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले करदाता उत्प्रेरित भएर कर तिर्न जागरुक हुन् भन्ने उद्देश्यले २०६९ साल मंसीर १ गतेदेखि कर दिवस मनाउन सुरु गरिएको बताउदै कानुनभन्दा बढी कर लगाउन नपाइने धारणा राख्नुभयो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले कर प्रणाली सुधारका लागि कर दातामैत्री बनाउनुपर्ने भन्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।