काठमाडौं । कर्नाटक अन्डर १९ विरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाली युवा टोलीले सहज जित हात पारेको छ ।
एसीसी एसिया कप तयारीमा रहेको नेपाल यू-१९ क्रिकेट टोलीले कर्नाटक यू-१९ विरुद्ध ७ विकेटको जित हात पारेको हो । यससँगै पाँच खेलको ओडी सिरिज १–१ को बराबरीमा पुगेको छ । नेपालको जितमा कप्तान हेमन्त धामी र नरेन भट्टले कसिलो बलिङ गर्दा ओपनर आकाश त्रिपाठीले अर्धशतकीय योगदान दिए ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको भ्रमण टोली कर्नाटक यू-१९ ले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवातका बाबजुद कर्नाटकले ठूलो स्कोर बनाउन सकेन । ९९ रन जोड्दा ३ विकेट गुमाएर बलियो अवस्थामा पुगेको कर्नाटकले बाँकी २२ रन जोड्दा ७ विकेट गुमायो ।
ओपनर प्रतिक पीले ३७ र रिशाभ अप्पाचुले ४० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि नरेनले १० ओभरमा २० रन खर्चेर ४ विकेट लिए । हेमन्तले पनि ४ विकेट हात पारे ।
जवाफमा १ सय २२ रनको लक्ष्य नेपालले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आकाश त्रिपाठी र मयन यादवले ६८ रनको ओपनिङ साझेदारी गरे । मयन ३२ रनमा आउट भए । नरेन भट्टले १४ रनको योगदान दिए । सन्तोष यादवले खाता खोल्न सकेनन् । उत्तम थापा मगर १२ र ओपनर आकाश त्रिपाठी सर्वाधिक ५२ रनमा अविजित रहे ।
जितसँगै ५ खेलको सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो । दुई टोलीबिचको तेस्रो खेल आइतबार हुनेछ ।