भैरहवाबाट शनिबार एकैदिन तीन अन्तर्राष्ट्रिय उडान

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भैरहवाबाट शनिबार एकैदिन तीन अन्तर्राष्ट्रिय उडान

बुटवल । अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने क्रम बढेको छ ।

शनिबार मात्रै तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दै छन् । विमानस्थलमा नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । 

शनिबार बिहान कुवेतको जजिरा एयरवेज विमानस्थलमा अवतरण गरेको छ । बिहान ७ बजेर ४० मिनेटमा जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।  अन्तर्राष्ट्रिय अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको छ । दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो ।

भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । 

आउने साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement