काठमाडौं विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गर्नासाथ हवाइ भाडा अचाक्ली बढ्यो

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गर्नासाथ हवाइ भाडा अचाक्ली बढ्यो

काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएपछि हवाइ उडान ३५ प्रतिशतले कटौति भएको छ । उडान कटौति भएपछि अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले भाडा अचाक्ली बढाएका छन् ।

दैनिक १० घण्टासम्म उडान कटौति र भाडावृद्दि भएपछि आजै पराष्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीसँग वैदेशिक रोजगार व्यवसायीको छलफल भएको छ । हवाइ भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको भन्दै व्यवसायीले परराष्ट्रमन्त्री आरजु राणालाई ज्ञापनपत्र नै बुझाएका छन् ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौं विमानस्थल बन्द गरेर भैरहवा विमानस्थल सञ्चालन गर्न नखोजिएको दाबी गर्नुभएको छ । 

दुई विमानस्थल सञ्चालन गर्न नसकेपछि त्रिभुवन विमानस्थल बन्द गरेर वायु सेवा कम्पनीलाई जबरजस्ती भैरहवा र पोखरा जान दबाब दिएको भन्दै अधिकारीको समाजिक सञ्जालमा आलोचना हुँदै आएको छ । उहाँले भने विमानस्थल विस्तारका लागि पूर्वनिर्धारित कार्यतालिका अनुसार नै १० घण्टा बन्द गरिएको जानकारी दिनु भयो ।

महानिर्देशक अधिकारीले विमानस्थल बन्द गर्ने निर्णय ७ महिनाअघि भएको तर सरकारले विमानस्थलस्थलमा दिइने सहुलियत प्याकेज एक महिनाअघि मात्रै ल्याएकाले विमानस्थल बन्द गर्नु र सरकारले प्याकेज ल्याउनु संयोग मात्रै भएको दाबी गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले आजदेखि राति १० देखि बिहान ८ बजेसम्म व्यावसायिक उडान रोकेर पूर्वाधार विस्तार गर्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement