दसैंको अग्रिम टिकट बुकिङ खुलाउन सरकारसँग बार्गेनिङ गर्दै यातायात व्यवसायी

सडक मर्मतको बहानामा भाडा बढाउन दबाब
आश्विन २, २०८१ |विकास आचार्य
दसैंको अग्रिम टिकट बुकिङ खुलाउन सरकारसँग बार्गेनिङ गर्दै यातायात व्यवसायी

काठमाडौं । दसैं सुरु हुन अब १५ दिन मात्र बाँकी छ । तर अहिलेसम्म यातायात व्यवसायीले सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरेका छैनन् । सरकारसँग सौदाबाजी गरिरहेका व्यवसायीले बुकिङ खुला गर्न ढिलाइ गरेका हुन् । सरकार र व्यवसायीबीच आज सिंहदरबारमा भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन ।

अग्रिम टिकट बुकिङ खुला गर्नुअघि भाडा समायोजन गर्न र सडकको अवस्था सुधार गर्न व्यवसायीले अड्को थापेका छन् । जसका कारण काठमाडौं उपत्यकाबाट दसैंका लागि बाहिरिने झन्डै १५ लाख यात्रुलाई सकस पर्ने देखिएको छ ।

यातायात व्यवसायीले सरकारसँगको वार्तामा सुरुमै दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुअघि भाडा वृद्धि गर्न र सडक मर्मत गर्न माग गरे । जसका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासँग यातायात व्यवसायीले गरेको छलफल निष्कर्षमा पुग्न सकेन ।

सरकार भने व्यवसायीले भनेअनुसार तत्काल भाडा बढाउन सक्ने मनस्थितिमा देखिएन । बरु यातायात व्यवस्था विभागले असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गर्‍यो । तर त्यो एजेन्डामा व्यवसायी प्रवेश नै गर्न मानेनन् ।

व्यवसायी भने दुई वर्षदेखि भाडा समायोजन नभएकाले अहिले नै गर्नुपर्ने अडानमा देखिए । सरकारले गत वर्ष नै भाडा समायोजन गर्ने सहमति गरिसकेको भन्दै व्यवसायी आफ्नो अडानबाट पछि हट्न मानेनन् । व्यवसायीहरुले भाडाको मात्र कुरा उठाएनन्, सडकको अवस्था सुधार गर्नसमेत माग गरे । जवाफमा सडक विभागले दसैंसम्म निर्माणाधीनबाहेक ८० वटै राष्ट्रिय राजमार्गका खाल्डाखुल्डि टाल्ने आश्वासन दियो ।

मन्त्री दाहाल र सचिव शर्मा भने केही बेर बैठकमा सहभागी भएर बाहिरिनुभयो । र मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले व्यवसायीलाई मनाउन सक्नुभएन । दसैं नजिकै आइसक्यो । बर्सेनि झन्डै १५ लाख मानिस दसैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका छन् । तर, हालसम्म अग्रिम टिकट बुकिङ खुलाउन सरकारले गरेको प्रयास निरर्थक बन्दा यस वर्ष पनि दसैंका बेला सर्वसाधरण ठगिने र दुख पाउने देखिँदै गएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement