काठमाडौं । राजस्व अनुसन्धान कार्यालय, इटहरीले सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगसँग अवैध विदेशी चुरोट भेटिएको विषयमा जवाफ माग गरेको छ ।
उद्योगभित्र विदेशी ब्रान्डका राजस्व छलीका मार्लबोरो चुरोट भण्डारण गर्ने गरिएको र पोल खुल्ने डरले अढाई ट्रक जति चुरोट जलाइएको घटना सार्वजनिक भएपछि उद्योगसँग जवाफ माग गरिएको कार्यालयका प्रमुख खेमराज ओझाले जानकारी दिनुभएको छ ।
प्रहरी र सञ्चारमाध्यममार्फत् जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरिएको उहाँले बताउनुभयो । उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको ओझाले जानकारी दिनुभयो । बाँकी रहेका चुरोट उद्योगले कतै लुकाएको हुन सक्ने आशंका गरिएको छ ।
शनिबार साँझ होहल्ला भएपछि उद्योगमा पुगेको मिर्चैया प्रहरीले तीन वटा काटुनमा ल्याएको चुरोट लिएर राजस्वको टोली फर्किएको र उद्योगले मंगलबार साँझसम्म जवाफ दिनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो, किन आयोलगायतका विषयमा जवाफ माग गरिएको छ ।