धान खेतमा हाँस पालन, धान उत्पादनमा पनि २० प्रतिशत वृद्धि

भाद्र २, २०८१ |भुवन पाण्डे
धान खेतमा हाँस पालन, धान उत्पादनमा पनि २० प्रतिशत वृद्धि

रुपन्देही । परम्परागत खेती प्रणालीले लागत बढेको भन्दै धेरै किसानले कृषि पेशा छाडिरहेका उदाहरण प्रशस्तै छन् । रुपन्देहीमा भने वैज्ञानिक विधिबाट व्यवसायीक हाँस पालन सुरु भएको छ । राइस डक टेक्नोलोजीबाट किसानले राम्रो आम्दानी लिन थालेपछि अन्यले पनि त्यसको सिको गर्न थालेका हुन् ।

खेतमा धान रोपेको हामी सबैले देखेकै कुरा हो । के तपाईले धान खेतमा हाँस पालेको देख्नुभएको छ ? आज मैले तपाईहरुलाई धान खेत हाँस कसरी पालन गरिन्छ भनेर देखाउँदै छु ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० उद्यमशील टोलका किसान दामोदर भुसालले तीन वर्षदेखि यसरी नै धान खेतमा हाँस पाल्दै आउनुभएको छ । विद्यावारिधिका क्रममा चीनमा रहँदा राइस डक टेक्नोलोजी देखेपछि नेपाल फर्किएपछि सुरु गरेको उहाँले बताउनुभयो । प्रजनन पछि, हाँसहरूलाई धान रोपेको १५-२० दिनदेखि, काट्नुभन्दा एक महिना अघिसम्म खेतमा चराउन दिइन्छ । हाँसहरू दैनिक ५-६ घण्टा धानखेतमा बस्छन् । जसका कारण धान उत्पादनमा २० प्रतिशतसम्म वृद्धि भएको छ ।

हाँसले कीरा, फट्याङ्ग्रा, गाड्यौला तथा विभिन्न झारपात खाई धान खेत सफा गर्छन् । तिनीहरुको मलमूत्रले जमिन उर्वर हुन्छ, त्यसैले खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु पर्दैन । यो प्रणाली धेरैका लागि अनौठो भएपनि यहाँ आसपासका किसानलाई यहि प्रणालीबाट खेती गर्ने प्रेरणा मिलेको छ । ग्राहकहरु हाँस लिन फार्ममै आउने गरेका छन् ।

धान खेतमा हाँस पाल्दा रोग, किराको आक्रमण पनि कम हुने कृषि विज्ञहरु बताउँछन् । कृषिबाट लागत मूल्यपनि उठेन भनेर गुनासो गर्ने किसानहरुकालागि कृषिमा एकिकृत प्रणाली लागू गरे मूनाफा बढी हुने देखिएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।