काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् साढे एक लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य अकासिएपछि व्यवसायीले बैंकबाट सुन खरिद गर्नै छाडेका छन् । तर बजारमा कारोबार भने कम भएको छैन । यसले के देखाउँछ भने बजारमा अवैध सुन आइरहेको छ । तर उपभोक्ता वैध मूल्य तिरेर किनिरहेका छन् । अवैध तवरले आएको सुनले नै बजार धानेको देखिँदा पनि अनुगमन भने भएको छैन ।
व्यवसायीले बैंकमा सुन नकिन्ने तर माग निरन्तर बढेका कारण बिक्री गरिरहने । यही तथ्यले नै स्पष्ट पार्छ बजारमा अवैध सुनको खरिद बिक्री भइरहेको छ । असार महिनाको विवाहको लगन सकिएर चाडपर्व नजिकिँदै छ र फेरि विवाहको सिजन आउँदै छ । यस्तोमा सुनको किनबेचमा कमी आएको छैन । तर सुन बेच्ने व्यवसायीले बैंकबाट सुन खरिद गर्न छाडेका छन् ।
दुई वर्ष अघि मात्र दैनिक २० किलोको कोटाले माग धान्न नसक्ने भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएका व्यवसायीले अहिले बैंकबाट १० किलो पनि खरिद गर्न छाडेका छन् । बैंकहरुमा करिब २ क्विन्टल सुन मौज्दात छ । व्यवसायी भन्छन्- सुन महँगो भएकाले उपभोक्ताले खरिद गरेनन् । तर व्यवसायीले भने जस्तो अवस्था नभएर कारोबार भई नै रहेको छ । चाडपर्व होस वा विवाह व्रतबन्धको सिजन जतिसुकै महँगो भए पनि उपभोक्ताले सुन किनिरहेको हुन्छ । यसमा नियमन नहुँदा भन्सार छलीको अवैध सुन बजारमा पर्याप्त आएपछि बैंकको सुन बिक्री नभएको हो ।
गत वर्ष मात्रै सरकारले ७ हजार ३ सय केजी सुन बैंकबाट खरिद गर्न कोटा दिएको थियो । तर व्यवसायीले करिब ३ हजार २ सय केजी मात्र खरिद गरे । बैंकको भन्दा अवैध तवरले आएको सुन सस्तो हुने भएपछि व्यवसायी पनि यसतर्फ आकर्षित भएका हुन् । सरकारले लगाएको २० प्रतिशतको भन्सार शुल्क छल्दा मात्र पनि प्रतितोलामा २८ हजार बचत हुन्छ । त्यसमाथि अवैध रूपमा भित्र्याइएको सुन अझ केही सस्तो हुने भएकाले अनौपचारिक बजारमा खरिद बिक्री मौलाएको हो ।
सुनको बढ्दो मूल्य र बढिरहेको मागका कारण नै सुन तस्करीका घटना पछिल्लो समय भइरहेका छन् । नेपालमै पनि प्रहरीले लगातार अवैध सुन बरामद गरिरहेको हुन्छ । नेपालमा अवैध सुन कसरी भित्रिन्छ र को को व्यवसायी यस्तो धन्दामा संलग्न छन् भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेकै छ ।
सुनको मूल्य निर्धारण विश्व बजारले गर्छ । अहिले मूल्य बढ्नुको मुख्य कारण रुस-युक्रेन युद्धदेखि अमेरिका र चीनबीचको चिसो सम्बन्धसम्मलाई लिएर अर्थ लगाउने गरिएको छ । विश्व अर्थतन्त्र नै शिथिल रहँदा लगानीकर्ताले सुनमा लगानी गर्ने वा सुन किनेर राख्ने गरेका कारण पनि मूल्य र माग बढिरहेको हो ।
त्यसो त भारतमा भन्दा नेपालमा सुन महँगो छ । भारतमा सुन आयात गर्दा ६ प्रतिशत भन्सार कर लाग्छ भने नेपालमा २० प्रतिशत । यसलाई छल्न पनि अवैध तरिकाले सुन आयात हुन्छ । प्रहरीको अनुसन्धानले नेपालमा चीन, भारत र खाडीका मुलुकबाट अवैधरुपमा सुन आयात भइरहेको छ ।
बिचौलियाहरूले अवैध रूपमा भित्र्याएको सुन नेपालका सुन पसलसम्म पुर्याएर वैधानिक बनाए पनि सरकारले अनुगमन गर्न सकेको छैन । यहीकारण तस्कर, व्यवसायी र बिचौलिया मोटाउने उपभोक्ता मारमा पर्ने भइरहेको छ ।