औषधीय गुण भएको गानोडर्मा च्याउको बजारीकरणमा समस्या

श्रावण २३, २०८१ |भुवन पाण्डे
औषधीय गुण भएको गानोडर्मा च्याउको बजारीकरणमा समस्या

रुपन्देही । नेपालमा एक वर्षअघिदेखि औषधीय गुण भएको गानोडर्मा च्याउको व्यवसायिक खेती सुरु भयो । हिमाल, पहाड, तराई तीनै भेगमा यो च्याउको उत्पादन गरी विदेशसमेत निर्यात भइरहेको छ । तर, सरकारले केही सहयोग नगर्दा च्याउ उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या हुन थालेको छ । 

पाल्पाका २० जना किसानले तीन करोड लगानी गरेर गानोडर्मा च्याउको व्यवसायिक उत्पादनका लागि उद्योग तथा प्रशोधन केन्द्र स्थापना गरेका छन् । उद्योगमा गानोडर्मा च्याउ खेतीमा आवश्यक पर्ने डल्लाहरु बनाएर हिमाल, पहाड र तराईका किसानलाई बिक्री गरिन्छ । उत्पादित च्याउ यही उद्योगले प्रतिकेजी दश हजारमा खरिद गर्दैआएको छ । च्याउको अन्तर्राष्ट्रिय बजारमा माग अत्यधिक छ । तर, च्याउ उत्पादन तथा प्रशोधनमा आर्थिक अभाव हुादा यसको नियमित निर्यात गर्न समस्या भइरहेको छ ।

अन्तराष्ट्रियस्तरमा गानोडर्मा च्याउको मूल्य प्रतिकिलो १५ हजार रुपैयाँसम्म पर्छ । यो अन्य प्रजातिका च्याउ जस्तो नरम र मिठो हुँदैन । काठजस्तो कडा र तीतो स्वादको हुने भएकाले पकाएर खान सकिँदैन । विकल्पमा च्याउलाई सुकाएर पाउडर बनाई पानीमा उमालेर रसलाई चियाको रूपमा उपभोग गर्न सकिन्छ । औषधीय गुण भएको गानोडमा च्याउलाई नेपालमा रातो च्याउ पनि भनिन्छ । क्यान्सर प्रतिरोधी गुण भएको तथा नियमित सेवनले मानिसको शरीरको प्रतिरक्षा प्रणालीमा सुधार आउने विभिन्न अध्ययनले देखाएको छ । विभिन्न भेगमा उत्पादन भएको यही च्याउलाई पाल्पाको भैरव च्याउ उद्योगले प्रशोधन गरेर बिक्री गर्ने गरेको छ ।

अहिलेसम्म झन्डै तीन हजार नेपाली किसान गानोडर्मा च्याउ उत्पादनमा जोडिएका छन् । विभिन्न जडिबुटीका दाउरा र स्याउला पिसेर बनेको धुलोलाई विभिन्न चरणमा प्रशोधन गरेपछि मात्र च्याउ उमार्न डल्ला तयार हुन्छ । च्याउ उमार्न अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस, आर्द्रता ८० देखि ८५ प्रतिशत, पर्याप्त प्रकाश र भ्यान्टिलेसन आवश्यक पर्छ । तयार भएको च्याउलाई पानीमा पखालेर ५० डिग्री सेल्सियस तापक्रममा सुकाउनुपर्छ । सुकेको च्याउलाई पिसेर प्रशोधन गरेपछि पाउडरका रुपमा प्रयोग गर्न सकिन्छ । औषधीय गुण र पौष्टिकताका कारण विश्वभर गानोडर्मा च्याउको प्रयोग बढ्दै गएको छ । सरकारले च्याउ उत्पादनका लागि सहयोग गर्दै विदेश निर्यातमा सहजिकरण गरिदिए यसमा लागेका किसानको आम्दानीको स्रोत बलियो हुने थियो ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।