सेयरबजारमा देखिएको उच्छल कति स्वाभाविक ?

श्रावण १३, २०८१ |भरत रावल
सेयरबजारमा देखिएको उच्छल कति स्वाभाविक ?

काठमाडौं । अर्थतन्त्रमा सुधारविनै सेयर बजार बढेपछि विज्ञहरुले साना लगानीकर्तालाई सजग भएर लगानी गर्न सुझाव दिएका छन् । कम्पनीहरुको नाफा बढ्न सकेको छैन भने बजार अझै चलायमान हुन सकेको छैन । तर, सेयर बजार भने १० दिनमै झन्डै साढे ४ सय अंकले बढिसकेको छ । यस्तो अवस्थामा लगानीकर्ता र नियामक चनाखो हुनुपर्ने देखिएको छ ।

सेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । यसको गतिले नै देशको अर्थतन्त्र कति स्वस्थ छ भनेर मूल्यांकन गरिन्छ । तर १० दिनयता जुन गतिमा सेयर बजार उकालो लागेको छ, त्यसले देशको अर्थतन्त्रलाई कतैबाट पनि प्रतिनिधित्व नगर्ने र साना लगानीकर्ताको लगानी कुनै पनि बेला जोखिममा पर्न सक्ने अर्थविद्हरुले बताएका छन् ।

अर्थमन्त्री परिवर्तनको हल्ला चलेदेखि नै बढ्न थालेको बजार पछिल्ला १० दिनमै ४४१ अंकले बढिसकेको छ भने दैनिक दुई अर्बको कारोबार बढेर १५ अर्बमाथि पुगेको छ । यस्तो बेला सजग भएर लगानी बढाउनुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको सुझाव छ ।

दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से, कारोबार रकम १५ अर्ब नाघ्यो

आइतबार बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोक्का भयो । त्यसपछि खुलेको बजार पनि पुनः एक मिनेट पनि टिकेन । ४० मिनेटपछि खुलेको बजारमा दिनभर उतारचढाव रहृयो र अन्तिममा ११३ अंकले बढेर कारोबार बन्द भएको छ । यसरी हल्लाकै भरमा बजार बढ्न लागेकाले साना लगानीकर्ताको लगानी सुरक्षित गर्न नियामक निकाय बलियो हुनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य बताउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा हटाएपछि १८ सय अंकमा झरेको बजार आइतबार २७ सयको आसपासमा छ । अहिले अर्थतन्त्र खास कुनै सुधार देखिन्न । त्यसैले यस्तो बेलामा लगानीकर्ताहरु सजग भएर लगानी बढाउनुपर्ने देखिन्छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।