निजी पम्पले बिक्री बन्द गरेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव

सरकारी पम्पमा तेल हाल्नेको घुइँचो
सरकार र ट्यांकर चालकबीच सिंहदरबारमा वार्ता
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी पम्पले बिक्री बन्द गरेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव

काठमाडौं । निजी पम्पहरुले बिक्री बन्द गरेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सरकारी पम्पहरुमा डिजेल/पेट्रोल भर्नेको लाइन बढेको छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । सोही कारण निजी पम्पहरुले आइतबारदेखि इन्धन बिक्री बन्द गरेका हुन् । चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा सातबुँदे माग राखेर ट्यांकर चालक आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि अत्यावश्यक सेवासुविधासमेत नपाएको उनीहरुको गुनासो छ । विभिन्न निकायलाई मागबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको उनीहरुको दाबी छ ।

यसैबीच, आन्दोलनरत ट्याङ्‍कर चालक स‌ंघ र सरकारबीच सिंहदरबारमा वार्ता हुने भएको छ । उद्योग मन्त्रालयले ट्यांकर चालक संघलाई वार्तामा बोलाएको हो । आजै सहमति गरेर बजार नियमित गर्न लागिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.