किसानलाई जौं भित्र्याएर मार्सी रोप्ने चटारो

जौंको कारोबार बढेकाले किसान उत्साही
जेष्ठ २२, २०८१ |डीबी बुढा
किसानलाई जौं भित्र्याएर मार्सी रोप्ने चटारो

जुम्ला । यतिबेला जुम्लाका किसानलाई जौं बाली भित्र्याउन भ्याइनभ्याइ छ । एकाबिहानै जौं बारीमा पसेका किसान साँझ अबेर मात्रै जौका पुला (भारी) बोकेर घर फर्कन्छन् ।

एक नगरपालिका र सातवटा गाउापालिका रहेको जुम्लाका ६० वटै वडामा एकैसाथ जौं बाली भित्र्याउन सुरु गरिएको छ । जौ भित्र्याएर मार्सीधान रोप्न जुम्लाका किसान लागि परेका हुन् । यतिखेर जौं भित्र्याउने उत्साहले खेतखेतमा रमाइलो हुने गरेको गुठीचौर ५, जुम्लाकी गीता सार्की बताउनुहुन्छ ।

फाँटमा जौं पाकेर पहेंलपुर छ । अन्य बालीभन्दा जौं कम मात्रामा छर्न थालिए पनि समग्र उत्पादनमा भने कमी आएको छैन । गाईवस्तुलाई दानादेखि मर्दा-पर्दा चाहिने बाली हो जौं । शुद्धबाली मानिने भएकाले मन्दिरमा होम गर्न पनि जौं चाहिन्छ । स्थानीय किसान रामजी खत्रीका अनुसार जौंको ढिँडो, रोटी, सातु र सर्वोत्तम पिठोसमेत बनाएर खाने गरिन्छ ।

जौं बालीलाई पौष्टिक आहारका रूपमा लिइन्छ । जिल्लामा तीन हजार ८७० हेक्टरमा जौं उत्पादन हुने गरेकामा वार्षिक ७ हजार टन उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका कमला थापाले जनाउनुभयो । ग्रामीण क्षेत्रमा ३० रुपैयाँ मानाका दरले जौं बिक्री हुने गरेको छ ।

जुम्ली जौं मन्दिरमा पूजाआजाका लागि प्रयोग हुँदै आएको छ । हरेक वर्ष ५० देखि ८० क्विन्टलसम्म जौं निर्यात भइरहेको छ । पशुपति क्षेत्रका पसलहरुमा जौंको कारोबार निकै बढी हुने गरेको व्यापारीहरु बताउने गर्छन् । जसले गर्दा पछिल्लो समयमा जुम्ली जौंले प्राथामिकता पाउन थालेको तातोपानी ६, जुम्लाका व्यापारी दलबहादुर खड्का बताउनुहुन्छ ।

खेतबारीमा जौं छरेपछि गोडमेल गर्नु पर्दैन । यहाँका अधिकांश पाखोबारीमा जौं लगाइन्छ । जुम्लाका प्रत्येक घरमा ५ देखि १५ क्विन्टलसम्म जौं उत्पादन हुँदै आएको छ । यहाँ स्थानीय चावल जातको जौं खेती गरिँदै आएको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।