मकैमा लागेन दाना, क्षतिपूर्तिका लागि किसानको हारगुहार

मौसमलाई दोष देखाएर पन्छँदै सरकार
चैत्र २०, २०८० |सुमन पन्थ
मकैमा लागेन दाना, क्षतिपूर्तिका लागि किसानको हारगुहार

काठमाडौं । नेपाली कृषक समस्यै समस्यामा छन् । कहिले बाली लगाउने समयमा रासायनिक मलको हाहाकार हुन्छ त कहिले पानी नपर्दा समस्या । पछिल्ला वर्षमा त नेपाली किसान बिउमा ठगिँदै आएका छन् । तर किसानका समस्यामा तीनै तहका सरकारलाई कुनै चिन्ता छैन ।

हिउँदे मकै लगाएका बारा पर्सा रौतहटका किसानले लगाएका मकैका घोगामा दाना नै लागेन । दाना नलागेपछि मकै खेती लगाउँदा लगानी भएको मल, बिउ र ज्याला कसरी उठाउने भन्ने चिन्तामा किसान छन् ।

हिउँदे मकै खेती राम्रो हुने भएकाले कञ्चनपुरदेखि बारा पर्सा सम्मका किसान यसमा आकर्षित छन् । तर मकैमा दाना नलाग्ने समस्याबाट उनीहरू पिरोलिएका छन् । मकैमा दाना नलागेको भन्दै किसान भौंतारिए पनि अहिलेसम्म कति किसानको कति क्षेत्रफल जमिनमा यस्तो समस्या देखियो यकिन तथ्यांक राज्यले लिन सकेको छैन । हिउँदे मकैमा मात्र होइन, धानमा पनि किसान ठगिँदै आएका छन् ।

चार वर्षअघि चितवनमा गरिमा नामक धानको बिउ लगाएका किसान बाला नलागेपछि ठगिए । त्यतिबेला दुई हजार किसानको करिब २३ करोड रुपैयाँ क्षति भयो । तर राज्यले तीन करोड दिएर घटना सामसुम पार्‍यो । धान र मकैका बिउमा किसान लगातार ठगिए पनि गुणस्तरहीन बिउ ल्याउनेलाई राज्यले कारबाही गर्न सकेको छैन भने कमसल बिउ ल्याउने क्रम पनि रोकिएको छैन ।

गुणस्तरहीन बिउको आयात र बिक्री नरोकिँदा किसान सधैं मारमा

अहिले तराईका जिल्लामा मकैमा दाना नलागेको विषयमा मधेस र केन्द्र सरकारले छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ । अध्ययन टोलीले कमसल बिउ र त्यस्ता बिउ ल्याउनेलाई कारबाहीभन्दा पनि प्रारम्भिक कारणमा मौसमलाई दोष देखाएर किसानका मर्कालाई विषयान्तर गर्न खोजिरहेको देखिन्छ ।

मकै र धानमा मात्र होइन आलुलगायतका तरकारी बालीमा समेत यस्ता समस्या आइरहेका छन् । कात्तिक-मंसिरमा आलु लगाउँदा बिउ नै उम्रिएन भने काँक्रोलगायत अन्य तरकारी नफल्ने समस्या किसानले लगातार भोगिरहेका छन् । तर यसको दीर्घकालीन समाधान खोजिएको छैन । हामीकहाँ ८० प्रतिशतभन्दा बढी तरकारीको बिउ आयात हुन्छ । तर यसको गुणस्तरको सुनिश्चिता नहुँदो बालीको उत्पादकत्व घटेको छ भने प्रतिफल पनि राम्रो छैन ।

विडम्बना कस्तो छ भने सरकारले नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका बिउ किसानसम्म पुग्न सकेको छैन । यसकारण किसान आयातित बिउमा भरपर्ने गरेका छन् । जसको परिणामस्वरुप कहिले मकैमा दाना नलाग्ने त कहिले धान नफल्ने मारमा किसान छन् ।  


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।