नेपालमा ६ दशकमा गहुँका ५४ जातको विकास

चैत्र १८, २०८० |भुवन पाण्डे
नेपालमा ६ दशकमा गहुँका ५४ जातको विकास

कपिलवस्तु । गत ६ दशकमा नेपालमा गहुँका ५४ वटा नयाँ जातको विकास भएको छ । यो बीचमा थप चारवटा जात अनुसन्धानपछि सिफारिसको चरणमा छन् भने १३ वटा पुराना जातलाई सूचीबाट हटाइएको छ । खाद्य सुरक्षासँगै पोषण अभिवृद्धिलाई मध्यनजर गर्दै भूगोल र हावापानी अनुकूल जातहरु विकास भए पनि गहुँको परनिर्भरता भने अहिलेसम्म हट्न सकेको छैन । तर यहीबीचमा एक किसानले कृषि अनुसन्धान परिपषद्‍ले विकास गरेका जातको भन्दा झन्डै दोब्बर उत्पादन र उत्पादकत्व लिन सकिने नयाँ गहुँको जात विकास गरेका छन् ।

पाँच वर्ष अघि कपिलवस्तु बुद्धभूमि नगरपालिका- ५ पक्रेटाका किसान वारिस अली मुसलमानले छरेको गहुँबाट दुईवटा फरक गहुँको बाला भेटाए । एउटा बालामा रहेका गहुँको दाना सबै मुसोले खाइदिएछ । बाचेको बालामा रहेका ९० वटा दाना अर्को सिजनमा पुनः छरे । क्रमश यसरी नै एउटा बालाबाट वारिस अलीले पाँचौ बाली स्याहार्दासम्म डेढ कठ्ठा खेतमा पुग्ने बिउ बनाएर छरेका छन् । यो बाली स्याहार्दा चार कुण्टल उत्पादन गर्ने लक्ष्य छ ।

सामान्य गहुँको बाला भन्दा यो गहुँको बाला ठूलो छ । प्रति बालामा ९० वटा बढी दाना र अन्य जातको भन्दा औसतमा ठूलो दाना छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले विकास गरेका गहुँका जातभन्दा यस्को उत्पादन र उत्पादकत्व बढी छ । अहिलेसम्म नेपालमा विकास भएका गहुँका विभिन्न जातहरुबाट प्रति कट्‌ठा डेढ सयदेखि एक सय ८० केजीसम्म उत्पादन हुँदै आएको छ । तर, यो बेनाम जातको गहुँबाट प्रति कट्‌ठा तीन सय केजीसम्म उत्पादन लिएका छन् ।

बाला र दाना राम्रो भएको गहुँमा खैरो सिन्दुरे रोग भने अत्याधिक देखिएको छ । अवलोकनका लागि गएका कृषि वैज्ञानीकहरुका अनुसार अनुसन्धान पछि रोगको उपचार गर्न सकिने बताएका छन् ।

२१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन गहुँ उत्पादन हुने नेपालमा अझै पनि करिब ४ लाख मेट्रिक टन गहुँ आयात भइरहेको तथ्यांक छ । यो गहुँको जातीय शुद्धता कायम गरी रोग, किरा र जलवायु परिवर्तनको असर सहनसक्ने गरी विकास गरे गहुँमा निर्भरता मात्र घट्दैन निर्यात गर्नसक्ने अवस्थामा पुग्न सकिन्छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।