काठमाडौं । बिमा प्राधिकरणले जलविद्युत् आयोजनाको अनिवार्य बिमा गर्नुपर्ने कानुनी व्यवस्था गर्न संसदीय समितिलाई सुझाव दिएको छ । संसद्को पूर्वाधार विकास समितिको बैठकमा बिमा प्राधिकरणले जलविद्युत् आयोजनाको बिमा अनिवार्य गर्न सुझाव दिएको हो ।
विद्युत् विधेयकमा आवश्यक सुझाव दिन समितिले बोलाएको बैठकमा बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीहरुले जलवायु परिवर्तनका कारण नेपालका जलविद्युत् आयोजनामा जोखिम बढ्दै गरेको भन्दै पुनर्बिमा गर्न आनाकानी गरिरहेको बताए । उनले विधेयकमा जलविद्युत् आयोजनाको सम्पत्ति र दायित्वको अनिवार्य रुपमा बिमा गराउनुपर्ने व्यवस्था गर्न सुझाव दिए ।
अहिले जलविद्युत् आयोजनाका प्रवर्द्धकले आइपीओ सूचीकृत भएको ३ वर्षपछि बेच्न पाउने व्यवस्था छ । तर, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले प्रवर्द्धकको सेयर आयोजनाको ऋण चुक्ता गरेपछि मात्रै बेच्न पाउने व्यवस्था गर्न सुझाव दिएका थिए ।
यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने सरकारले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता रोकेकाले बैंकहरुलाई लगानी बढाउन बाध्य पार्न नसकिएको बताए । अहिलेसम्म ३ खर्ब ३० अर्ब कर्जा उर्जा क्षेत्रमा गएको र विद्युत् प्राधिकरणले पीपीए अघि बढाए राष्ट्र बैंकले पनि लगानी बढाउन बैंकहरुलाई बाध्य बनाउन सक्ने उनको भनाइ थियो ।
गभर्नर अधिकारीले ठूलो क्षमताका आयोजना बन्न सक्ने ठाउँमा साना-तिना आयोजना निर्माण भइरहेकाले सच्याउनुपर्ने बताए ।