पाल्पाको निस्दीका बासिन्दाको आम्दानीको स्रोत बन्यो अम्रिसो

भाउ भने भारतीय बजारले निर्धारण गर्ने
फाल्गुन ९, २०८० |माधव अर्याल
पाल्पाको निस्दीका बासिन्दाको आम्दानीको स्रोत बन्यो अम्रिसो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका झिरुवासका ३ सयभन्दा बढी घर परिवारले अम्रिसो लगाएर वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । झिरुवासको काउलेडाँडालाई कबुलियती वनमा रूपान्तरण गरेर सामूहिक अम्रिसो खेती हुने गरेको छ । 

त्यस्तै व्यक्तिगत जग्गामा पनि यसको खेती उल्लेख्य मात्रामा हुने गरेको छ । अम्रिसो त्यहाँका बासिन्दाको आम्दानीको भरपर्दो माध्यम बने पनि मूल्य भारतीय व्यापारीमा निर्भर रहँदा किसान मर्कामा पर्ने गरेका छन् ।

झट्ट हेर्दा निस्दीको झिरुवास काउलेडाँडामा लगाएको अम्रिसो इलामको चिया बगानसँग तुलना गर्न मिल्ने छ । काउलेडाँडामा बनमारा हटाएर डाँडैभरि स्थानीयले अम्रिसो लगाएका हुन् । कबुलियति मात्र होइन व्यक्तिगत जग्गामा पनि अम्रिसो रोपेका छन् । यहाँका समूहका २ सय १७ र व्यक्तिगत गरी ३ सय घरधुरीले ५० लाख बढी अम्रिसोको बिरुवा लगाएका छन् ।

अम्रिसोले भाउ पाउँदा कम्तीमा ३ करोड गाउँमा नगद भित्र्याउने गरेका छन् । किसानको अर्को समस्या भाउमा घटबढ हुनु हो । हरेक वर्ष अम्रिसोको भाउमा उतारचढाव आउँछ । गत वर्ष एक किलोको १ सय २० रुपैयाँसम्ममा बिक्री गरेका किसान यसवर्ष ५० रुपैयाँमा बिक्री गर्नु परेका गुनासो गरेका छन् ।

पुस र माघ कुचो काट्ने, बोक्ने र बिक्री गर्ने आतुर हुन्छ । गाउँमा सुकाउने र ग्रेडिङ गरेर निकासी गरिन्छ । भारतीय व्यापारी गाउँमै आउने र खरिद गरेर लैजाने गर्छन् । भारतमा कुचोको माग बढी आउँदा भाउ पाउने र माग नआउँदा भाउ कमी हुने गरेको छ ।

डिभिजन वन कार्यालयले पनि व्यापारी खोज्न समन्वय गरेको छ । भाउ नआउँदा तत्काल बिक्री गर्ने भन्दा संकलन गरेर राख्ने हो भने भाउ पाउँदा पठाउन सकिन्छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।